एजेन्सी – कोरोनाभाइरसको विस्तारबाट प्रभावित भएका विकासशील मुलुकलाई विश्व बैंकले १२ अर्ब डलरको सहयोगको घोषणा गरेको छ । यो आपतकालिन प्याकेजमा न्यून लागतको कर्जा, अनुदान र प्राविधिक सहयोग रहेका छन् ।
कोरोनाको प्रभावबाट जोगिनका लागि विश्वभरीका नेताहरुले आफ्नो मुलुक बन्द गरेपछि देखिने आर्थिक असरको न्यूनिकरणका लागि विश्व बैंकको यो कदम आएको हो ।
कोरोनाबाट बन्द हुने चेतावनीले विश्वका मुलुकलाई मन्दीतर्फ लैजाने देखिएपछिको समयमा बैंकको यस्तो कार्यक्रम आएको हो ।
यो सहयोगले मुलुकहरुलाई उनीहरुको सार्वजनिक स्वास्थ्यको अवस्थालाई संकटमा जान नदिने लक्ष्य निर्धारण गरेको छ ।
‘हामीले जे गर्ने प्रयास गरिरहेका छौ, त्यसले रोगको विस्तारलाई सीमित पार्नेछ,’ विश्व बैंक ग्रुप अध्यक्ष डेभिड पाल्पासले बताएको बीबीसीले जनाएको छ ।
बैंकले विशेषगरी गरीब र सर्वाधिक जोखिममा रहेका मुलुकलाई प्राथमिकता दिने छ । हाल कोरोनाभाइरस विश्वका ७० भन्दा बढी मुलुकमा विस्तार भइसकेको छ ।
यसको आधा रकम बैंकको इन्टरनेशनल फाइनान्स कर्पोरेशन आउनेछ, जसले निजी क्षेत्रसँग मिलेर काम गर्नेछ । १२ अर्ब डलरको ४ अर्ब डलर पहिलेनै उपलव्ध कोषबाट रकमान्तर गरिनेछ ।




प्रतिक्रिया