काठमाडौं – विश्वभर कोरोना भाइरसको संक्रमण १ सय ५७ देशमा विस्तार भएको छ । चीनको वुहानबाट डिसेम्बरको अन्त्यमा सुरु भएको मानिएको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या साढे ६ हजार भन्दा बढी पुगेको छ ।
हालसम्म ६ हजार पाँच सय १५ जनाको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । एकै दिनमा कोरोनाले ६ सय ८२ जनाको मृत्यु भएको छ । इटालीमा मात्रै विगत २४ घण्टामा ३ सय ६८ जनाले ज्यान गुमाएका छन् । इरानमा पनि थप एक सय १३ जनाको मृत्यु भएको छ ।
यसैगरी स्पेनमा ९६ जनाको मृत्यु भएको छ । कोरोनाका कारण उत्तरी इटालीको चेने नगरपालिकाका मेयर गोर्जियो भ्यालोटीको संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । इटालीका सञ्चारमाध्यमका अनुसार मेयर भ्यालोटीको शुक्रबार मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्याय देखिएपछि ७० वर्षीय मेयर भ्यालोटीलाई मार्च ७ मा अस्पताल भर्ना गरिएको थियो । फोक्सोमा अत्यधिक संक्रमणका कारण शुक्रबार उनको मृत्यु भएको इटालीका सञ्चारमाध्यमले जनाएका छन् ।
यो सहित इटालीमा कोभिड– १९ को संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ९ पुगेको छ । थप ३ हजार ५ सय ९० जनामा संक्रमण देखिएको छ । त्यस्तै इटालीपछि बढी प्रभावित रहेको इरानमा थप एक हजार २ सय ९ जनामा संक्रमण देखिएको छ । सोमबार बिहानसम्म इरानमा मृतकको संख्या ७ सय २४ पुगेको छ भने संक्रमितको संख्या १३ हजार ९३८ रहेको छ ।
त्यस्तै जर्मनीमा आइतबार मात्रै थप एक हजार २ सय १४ जनामा संक्रमण देखिएको छ भने २ जनाको मृत्यु भएको छ । जर्मनीमा सोमबार बिहानसम्म ११ जनाको मृत्यु भएको छ छ । यो मुलुकमा संक्रमित हुनेको संख्या ५ हजार ८ सय १३ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा चीनमा १४ जनामा संक्रमण देखिएको छ भने १४ जनाको मृत्यु भएको छ । युरोपका अन्य मुलुकमा पनि कोरोनाको संक्रमण विस्तार भएको छ । २४ घण्टामा बेलायतमा १४, अमेरिकामा ११, नेदरल्यान्ड्समा ८, फिलिपिन्समा ४, दक्षिण कोरियामा ३, जापान, सान मारिनो र अस्ट्रेलियामा २–२ जना तथा स्विजरल्यान्ड, स्विडेन, बेल्जियम, डेनमार्क, ग्रीस, अल्जेरिया, हंगेरी र ग्वाटेमालामा एक–एक जनाको मृत्यु भएको छ ।




प्रतिक्रिया