एजेन्सी – कोरोना भाइरस ‘कोभिड १९’ महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती भएको संयुक्त राष्ट्रसंघका महासचिवले बताएका छन् ।
हाल विश्वले ठूलो चुनौतीको सामना गरिरहेको भन्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सचेत गराएका छन् ।
‘यस महामारीले ल्याउने मन्दीको तुलना पछिल्ला कुनै वर्षका घटनासँग हुँदैन,’उनको भनाई थियो ।
कोरोना भाइरस महामारीको सामाजिक आर्थिक प्रभाव सम्बन्धी एक राष्ट्रसंघीय प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले भने,‘यो नयाँ रोगले मानिसहरूको जीवन र जीविकामा असर गर्दै समाजहरूको मुटुमै प्रहार गरेको छ ।’
उनले महामारीको प्रभाव कम गर्दै अन्त्य गर्नको लागि तत्काल सबैको सहकार्य सहितको स्वास्थ्य सहायता आवश्यक रहेको बताए ।
कम विकसित देशहरूलाई सहायता गर्न औद्योगिक राष्ट्रहरूलाई आग्रह यसो नगरे डढेलोजसरी फैलिएको यस रोगका डरलाग्दो नतिजा सामना गर्नुपर्ने जिकिर उनको थियो ।
यस महामारीबाट विश्वभर झण्डै २ करोड ५० लाख मानिसहरूले रोजगारी गुमाउने अनुमान राष्ट्रसंघको छ ।
विश्वव्यापी प्रत्यक्ष वैदेशिक लगानी प्रवाहमा ४० प्रतिशतले कमी आउने उक्त प्रतिवेदनमा जनाइएको छ ।




प्रतिक्रिया