कोरोना अस्पतालका सङ्क्रमित भरतपुर अस्पताल सारिने

कोरोना अस्पतालका सङ्क्रमित भरतपुर अस्पताल सारिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको मर्मतसम्भार गर्नुपर्ने भएपछि त्यहाँका सङ्क्रमितलाई भरतपुर अस्पताल सारिने भएको छ । भरतपुर महानगरपालिकाले स्थापना गरको कोरोना अस्पतालको व्यवस्थापन वैशाख १ गतेबाट भरतपुर अस्पतालले हेर्दै आएको छ ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार त्यहाँ रहेका सङ्क्रमितलाई आजै भरतपुर अस्पताल सारिने छ । कोरोना अस्पतालको शौचालयमा समस्या देखिएको छ भने पङ्खालगायतको मर्मतसम्भार गर्नुपर्ने भएको छ । सङ्क्रमित भएको ठाउँमा मर्मतसम्भारको काम गर्न नमिल्ने भएकाले सङ्क्रमित सार्न लागिएको हो । सो ठाउँलाई निर्मलीकरण गरेर मर्मतसम्भारपछि सङ्क्रमित राखिने छ ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार भरतपुर अस्पतालको हाडजोर्नी र सर्जरी विभागका सङ्क्रमितलाई स्थानान्तरण गरिँदैछ । हाडजोर्नीकालाई स्पाइनल र सर्जिकललाई मेडिकल वार्डमा सारेर ठाउँ खाली गरिएको छ । ती दुई वार्ड र क्याविनमा ६५ सङ्क्रमित राख्न सकिने तिवारीले जानकारी दिए ।

अस्पतालले कोभिड–१९ का लागि १० श्ययाको सघन उपचारकक्ष तयारी अवस्थामा राखेको छ । सङ्क्रमित अरु थप भएमा विभाग खाली गर्दै लगिने उनले जानकारी दिए ।

हाल भरतपुर अस्पतालमा रहेका नौमध्ये आज दुई घर फर्किँदैछन् । यस्तै कोरोना अस्पतालका २२ मध्ये चार डिस्चार्ज भई १८ जना भरतपुर अस्पतालमा सारिने उनले बताए । माडीमा शुक्रबार सङ्क्रमण पुष्टि भएकामध्ये ज्वरो आएका एक जनालाई भरतपुर अस्पताल ल्याइएको छ भने अन्यलाई माडीकै बघौडा अस्पतालको आइसोलेसनमा राखिएको छ ।रासस