कोरोनामुक्त भइन् १०१ वर्षीया हजुरआमा

कोरोनामुक्त भइन् १०१ वर्षीया हजुरआमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोरोनाको संक्रमण प्रत्येक दिन बढ्दो छ। केटोकेटीदेखि वृद्धवृद्धासम्म यसको चपेटामा छन्। संक्रमणबाट मुक्त हुने पनि कम्ती छैनन्। मध्यपुर नगरपालिका थिमीकी १ सय १ वर्षीया गणेशमाया प्रजापति कोरोना संक्रमणबाट मुक्त भएसँगै नगरमा खुसी छाएको छ।

बाल्यकालमा बिफरसँग लडेकी गणेशमायाले एक सय एक वर्षको उमेरमा कोरोनासँग पनि जुध्नुप-यो तर उनी संक्रमणमुक्त भएकी छन्। नातिमा संक्रमण देखापरेपछि परिवारका सबैले असोज २ गते परीक्षण गराउँदा गणेशमायासहित उनका छोरा इन्द्रबहादुर र छोरी पूर्णमायामा संक्रमण भेटिएको थियो।

चौध दिन घरमै सुरक्षित ढंगले बसेपछि असोज १६ मा परीक्षण गराउँदा गणेशमाया, इन्द्रबहादुर र नाति सहज संक्रमणमुक्त देखिएका छन् भने पूर्णमाया निको हुने क्रममा छिन्। ‘आमा निको भएपछि दिदीको पनि मनोबल बढेको छ,’ वडानम्बर ६ को अध्यक्षसमेत रहेका इन्द्रवहादुर प्रजापतिले भने, ‘वडामा पनि सबै खुसी भएका छन्।’

बाल्यकालमा बिफरको महामारीसँग लडेकी गणेशमाया प्रजापतिले एक सय एक वर्षको उमेरमा कोरोनासँग जुध्नुप-यो। उनी संक्रमणमुक्त भएको खबरले सिंगो नगरमा खुसी छाएको छ। होम आइसोलेसनका क्रममा गणेशमायाले माछामासु, गेडागुडी र मुगीको रस प्रशस्त मात्रामा खाएको बताइन्। ‘कोरोना लागेको खबर सुनेपछि पहिलो दिन केही डर लाग्यो,’ उनले सुनाइन्, ‘त्यसपछि डर हट्दै गयो।’

लामो जीवनकालमा थुप्रै संघर्ष गरेकी उनले नआत्तिए सबै रोग जित्न सकिने बताइन्। १९९० र २०७२ सालको भूकम्पको कहर समेत भोगेकी गणेशमायाले दुख आएपनि हरेस नखाएको सुनाइन्। १४ दिनको बीचमा एक दिन छाती केही दुखे पनि अन्य दिन खासै समस्या नआएको उनको अनुभव छ। ‘कसैले नि डराउनुपर्दैन,’ उनले भनिन्, ‘खानेकुरा मिलाएर खायो र सुरक्षितसँग बस्यो भने घरमै पनि निको हुन्छ।’

एक सय एक वर्षकी हजुरआमा कोरोनामुक्त भएको खबरले सिंगो नगरमा खुुुसी छाएको मेयर मदनसुन्दर श्रेष्ठले बताए। ‘कोरोना संक्रमितको बढ्दो संख्याले चिन्तित तुल्याए पनि हजुरआमा मुक्त भएको खबरले बढी खुसी दिएको छ,’ उनले भने, ‘होसियारी अपनाउँदै जाने हो भने अरुले पनि डराउनुपर्ने अवस्था छैन।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।