काठमाडौँ- अर्थमन्त्री डा. युवराज खतिवडाले कोभिड–१९ ले बहुसङ्ख्यक जनतालाई बेरोजगारी र गरिबीतर्फ धकेलेको बताउदै देशले गरिबी निवारणमा प्राप्त गरेको प्रयास र सफलता यसले कमजोर बनाएको धारणा व्यक्त गर्नुभएको छ ।
उहाँले दिगो विकास लक्ष्य हासिलमा पनि यो थप चुनौती रहने विचार व्यक्त गर्दे ऋण स्थगन र ऋण मोचनका माध्यमबाट कम आय भएका मुलुकको वित्तीय क्षमता बढाउने, स्वच्छ व्यापारको माध्यमबाट आधारभूत खाद्यान्न, औषधि र स्वास्थ्य उपकरणको सुनिश्चितता प्रदान गर्ने र सीमा नाकामा हुने मानिसको आवातजावत नियन्त्रण तथा आप्रवासी कामदारको लागि आधारभूत सुविधा उपलब्ध गराउन अन्तरसीमा र अन्तर्राष्ट्रिय सहयोगमा समन्वय गर्नुपर्ने सुझाव पनि राख्नुभएको थियो ।
उहँले विश्व आर्थिक मञ्चका पदाधिकारी, दक्षिण एसियाली राष्ट्रका सरकार प्रमुख तथा उच्च पदस्थ पदाधिकारी, निजी क्षेत्रका प्रतिनिधि, अर्थशास्त्री एवं विश्व स्वास्थ्य सङ्गठनका पदाधिकारीबीच विश्वभर फैलिएको कोरोना भाइरसले पारिरहेको तथा भविष्यमा पार्नसक्ने प्रभाव र यो समस्या सम्बोधन गर्ने उपायबारे भिडियो कन्फ्रेन्समार्फत बिहीबार छलफल गर्नुभएको थियो ।
उहाँले के धनी के गरिब हामी सबै अप्रत्याशित र अनपेक्षित यो जोखिमको सामना गरिरहेको उल्लेख गर्नुभयो, भन्नुभयो, कोभिड–१९ जस्ता अज्ञात शत्रुको सामना गर्न नसकेसम्म स्वास्थ्य सुरक्षा क्षेत्रमा भइरहेको बढ्दो खर्चले सार्वजनिक स्रोत तथा मानव कल्याणमा पुनः प्राथिमिकीकरण र केन्द्रित गर्नुपर्ने बताउनुभयो ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।




प्रतिक्रिया