कोरोना सङ्क्रमण फैलिन नदिन नागरिक इमान्दार बन्नुपर्छ : मुख्यमन्त्री शाही

कोरोना सङ्क्रमण फैलिन नदिन नागरिक इमान्दार बन्नुपर्छ : मुख्यमन्त्री शाही

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन हरेक नागरिक इमान्दार बन्नुपर्ने बताएका छन् ।

प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित कार्यक्रममा उनले हरेक नागरिकले आफू सुरक्षित रहने विधिको पालना गर्न सके सङ्क्रमण फैलिन नसक्ने बताए ।

मुख्यमन्त्री शाहीले दोस्रो चरणको सङ्क्रमण फैलिन नदिन कर्णाली प्रवेश गर्ने नाकाहरुमा कडाइ गरिएको बताए । “भारतबाट फर्किएकालाई सिधै क्वारेन्टिनमा राख्ने गरिएको छ, मुलुकका विभिन्न स्थानबाट आउनेहरुको पिसिआर रिर्पोट अनिवार्य मागिएको छ”, उनले भने, “अबको मुख्य चुनौती सामान ढुवानी गर्ने व्यक्ति नै हुन्, उनीहरुसंग दैनिक पिसिआर रिर्पोट हेर्न पनि सम्भव भएन ।” उनले ढुवानीमा संलग्न मजदूरहरुबाट थप जोखिम निम्तिन सक्नेप्रति चिन्ता व्यक्त गरे ।

मुख्यमन्त्री शाहीले सरकारको एक्लो प्रयासले मात्र कोरोना नियन्त्रण सम्भव नभएकाले नागरिक पनि उत्तिकै जिम्मेवार बन्नुपर्ने बताउँदै मास्क बिना नै हिँडडुल गरे प्रहरीले सचेतनापूर्वक पहिलोपटक मास्क वितरण गर्ने बताए ।

“यदि दोस्रोपटक पनि तिनै व्यक्ति मास्क बिनै बाहिर निस्केको पाइएमा कानून अनुसार कारबाही हुन्छ”, उनले भने, “कोरोनाबाट जोगिने मुख्य हतियार भनेकै मास्क हो, मास्क लगाउन, भौतिक दूरी कायम गर्न हेलचक्रयाइँ गरे कोरोनाबाट सुरक्षित रहन सकिन्न । रासस