एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आतङ्कवादी हमलाभन्दा पनि कोरोनाभाइरसको महामारी घातक भएको बताएका छन् । ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले दोस्रो विश्वयुद्धका बेला जापानी बमवर्षक विमानद्वारा पर्ल हार्बरमा गरिएको बमबारी र दुई दशकअघि न्यूयोर्क्स्थित ट्विन टावरमा भएको आतङ्कवादी हमलाभन्दा पनि कोरोनाभाइरसको महामारी घातक देखिएको बताएका हुन् ।
ट्रम्पले कोरोनाभाइरसको सङ्क्रमण अमेरिकामाथि अहिलेसम्म भएका सबै खालका आक्रमणभन्दा घातक भएको बताएका छन्। उनले यो महामारीले यस्तो स्वरूप लिनुमा चीनको भूमिका भएको आरोप पुनः लगाएका छन् । ट्रम्पका भनाइमा यदि चीनले तत्काल कदम चालेको भए यसले विश्वव्यापी महामारीको रूप लिने थिएन।
बीबीसी संवाददाता बार्बरा प्लेट अशर भन्छिन्, विदेशमन्त्री माइक पोम्पेओले पनि चीनविरुद्धको आफ्नो कठोर आलोचना दोर्होयाएका छन्।
चीनको अपारदर्शी व्यवहारकै कारण भइरसले महामारी बन्न पुगेको उनको भनाइ छ। उनले चीनको प्रयोगशालाबाट भाइरस फैलिएको भन्ने यथेष्ट प्रमाणहरू रहेको पनि दोर्होयाए। तर अमेरिकाले अहिलेसम्म कुनै प्रमाण भने प्रस्तुत गरेको छैन। चीनले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ । अमेरिकामा अहिलेसम्म ७३ हजार जनाको मृत्यु भएको छ भने १२ लाख जना सङ्क्रमित भएका छन्। अमेरिका विश्वमै सबैभन्दा प्रभावित देश हो।




प्रतिक्रिया