सैनिक आचरण उल्लंघनका घटनाले सङ्गठनलाई नै ध्वस्त पार्न सक्छः प्रधानसेनापति थापा

सैनिक आचरण उल्लंघनका घटनाले सङ्गठनलाई नै ध्वस्त पार्न सक्छः प्रधानसेनापति थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक संगठनको कार्यशैलीमा परिवर्तन ल्याउन सोंचाई र व्यक्तिगत मुल्य मान्यतामा परिवर्तन ल्याउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

जङ्गी अड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबको सभाहलमा आयोजित सप्ताहव्यापी ‘तेस्रो सैनिक आचार संहिता सप्ताह–२०७८’ कार्यक्रमलाई समापन गर्दै प्रधानसेनापति थापाले जबसम्म हामीमा परिवर्तन आउँदैन तबसम्म संगठनको कार्यशैलीमा परिवर्तनको अपक्षा राख्नुको कुनै अर्थ नभएको बताएका हुन् ।

‘जबसम्म हामीमा परिवर्तन आउंदैन, तबसम्म संगठनको कार्यशैलीमा परिवर्तनको आकांक्षा राख्नुको कुनै अर्थ हुँदैन,’ उनले भने, ‘नीति नियमले व्यक्तिलाई सहि बाटो देखाईदिने मात्र हो, तर उक्त बाटोमा कसरी हिंड्ने भन्ने व्यक्ति स्वयंमा नै निर्भर रहन्छ ।’

सैनिक आचरण उल्लंघनका घटनाहरुलाई केबल व्यक्तिको कमजोरीका रुपमा मात्र नलिन आग्रह गर्दै उनले यस्ता घटनाले सङ्गठनलाई नै ध्वस्त पार्न सक्ने हुँदा सचेत रहन निर्देशन दिए । ‘परिवर्तनको शुरुवात् आफैंबाट गरौं’ भन्ने भावना सहित लिईएको ‘सकारात्मक परिवर्तन’ को पहलकदमीको औचित्य सावित हुँदा यसबाट सम्पूर्ण सैनिक व्यक्ति र मूल रुपमा सैनिक संगठन लाभान्वित हुनेमा उनले जोड दिए ।

प्रधानसेनापति थापाले यस किसिमको कार्यक्रमबाट कर्तव्य पालनाका सिलसिलामा गर्न हुने र नहुने कामहरुका बारेमा व्यावहारिक प्रष्टता ल्याउनुका अलवा शंकाको सुबिधाका भरमा व्यक्तिगत फाईदा लिने प्रबृत्तिलाई समेत निरुत्साहित गर्ने बताए ।

साथै, उनले सैनिक आचारसंहिता संग्रह प्रकाशन भई कार्यान्वयनमा आईसकेको सन्दर्भमा यसलाई केबल दण्डित् गर्ने व्यवस्थाका रुपमा नबुझेर संगठनमा सकारात्मक कार्य संस्कृतिको निर्माण गरि सराहनीय कार्यलाई प्रोत्साहन र पुरस्कृत् गर्ने अवसरको विकास गर्ने माध्यमका रुपमा बुझिनु पर्ने धारणा व्यक्त गरे ।

कोभिड–१९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै भौतिक दुरी कायम राखी सञ्चालन गरिएको उक्त कार्यक्रममा रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाको उपस्थिती रहेको थियो । यस प्रकारका कार्यक्रमहरुको संचालनबाट नेपाली सेनामा कार्यरत सकलदर्जा बीच विश्वासको वातावरण सिर्जना भई थप अनुशासित, नैतिकवान, उर्जावान र व्यवसायिक संगठनको रुपमा स्थापित हुने विश्वास नेपाली सेनाले लिएको छ ।