समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुन्छ : प्रधानमन्त्री ओली


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा र सम्मानको प्रत्याभूति दिने ढंगबाट काम गरिरहेको बताएका छन् ।

सरकारको आव २०७५-७६ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारी संयन्त्रलाई प्रभावकारी रुपमा परिचालन गरी भ्रष्टाचार, तस्करी र कालाबजारी अन्त्य गर्ने दृढता व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले भने, “भ्रष्टाचार नियन्त्रण र उन्मूलन गरिन्छ, वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण, कर छल्ने र अनुचित कार्यको अन्त्य गरिनेछ । कर्मचारी प्रशासन ठीक ढंगले अघि बढाइने छ । प्रशासनलाई चुस्तदुरुस्त बनाउने नीति लिइनेछ ।

“सरकारको नीति तथा कार्यक्रम सही छ, अग्रगामी छ, देशका समग्र विषयलाई समेटेको छ, विकास र समृद्धिका विषयलाई समेटेको छ, नेपाली जनताको चाहना समेटिएको छ, पूरा गर्ने स्पष्ट बाटाहरु देखाएको छ”, प्रधानमन्त्री ओलीले भने ।  अब प्रतिपक्षलाई राम्रो कामलाई राम्रो तथा नराम्रो कामलाई नराम्रो भन्न आग्रह गर्दै सरकार प्रतिपक्षसँग एक भएर अघि बढ्न तयार रहेको बताए । “देशलाई अहिलेको आर्थिक स्थितिको विन्दुबाट अघि बढाउनुपर्छ ।

नेपाल सधैँ गरीब र पछि रहिरहन सक्दैन, अब नेपाललाई तेस्रो विश्वबाट पहिलो विश्वमा पु¥याउने नीति तथा कार्यक्रमले उद्देश्य लिएको छ”, प्रधानमन्त्री ओलीले भने । मुलुकलाई सम्पन्न गराउने समृद्धि र विकासमा केन्द्रित नीति तथा सुखी नेपालीको राष्ट्रिय आकांक्षा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्धिको लक्ष्य प्राप्तिका लागि कुन बाटोबाट जान्छौँ भन्ने स्पष्ट रहेको बताए ।

देशको सुरक्षा, सम्मान, हित र पूर्वाधारलगायतका आधारबाट जनताबाट जनतालाई सुख र समृद्धि तुल्याउने नयाँ राजनीतिक प्रणालीको अभ्यास भइरहेको बताउँदै उनले कृषिको आधुनिकीकरण, व्यावसायिकीकरण, व्यापक रोजगारी सिर्जना, उत्पादन र रोजगारी, राष्ट्रिय र आत्मनिर्भर अर्थतन्त्रमा जोड दिने र व्यापार घाटालाई सन्तुलनमा ल्याउने कुरा नीति र कार्यक्रम प्रस्तुत भएको बताए ।

“कोशी, कर्णाली र गण्डकमा पानी जहाजको माध्यमबाट समुद्रसम्म जान्छौँ, पानीजहाजबाट सामान ढुवानी हुनेछ । रेलमार्गलाई काठमाडौँ, केरुड र लुम्बिनीसँग जोड्न अध्ययन भइरहेको छ, तीन वर्षभित्र काठमाडौँमा मेट्रो चल्छ, यो योजनाविहीन ढंगले भनेको होइन”, उनले भने ।
विराटनगर र नेपालगञ्ज विन्दुबाट अन्तर्राष्ट्रिय जहाज अवतरणका लागि हवाइजहाजले प्रवेश पाउने, अप्टिकल फाइबर ओछ्याउने र अर्काे वर्ष विद्युत्भार कटौती अन्त्य गर्ने ढंगबाट काम भइरहेको बताउँदै उनले उत्पादित विद्युत् प्रसारण लाइनको व्यवस्थापन गरेर आवश्यकतानुसार व्यवस्थापन गरिनेछ भने ।

सबैखाले एकाधिकारलाई अन्त्य गरिने दृढता उनले व्यक्त गरे । जुनसुकै वंशज नेपाली नागरिक सन्तानले नागरिकताको प्रमाणपत्र प्राप्त गर्न कुनै व्यवधान नहुने बताउँदै  समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुने स्पष्ट पारे । प्रधानमन्त्रीले भने, “संविधान संशोधन गर्न सकिने दस्तावेज भएकाले आवश्यकता र औचित्यका आधारमा संशोधन हुनसक्छ । यससम्बन्धी समस्या समाधार गर्न सरकार तयार छ ।”

प्रधानमन्त्री ओलीले सामाजिक विविधतालाई सांस्कृतिक सम्पन्नताको विषय बनाउनुपर्छ र सामाजिक सद्भावमा आधारित राष्ट्रिय एकता हुनुपर्छ भने । संघीयताको नयाँ अभ्यासका क्रममा आउने समस्यालाई छलफलका आधारमा सहमतिमा ल्याएर स्थानीय र प्रदेशसभा सरकारलाई प्रतिफलमूलक बनाइने पनि प्रधानमन्त्री ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement