काठमाण्डु – उच्च अदालत पाटनले १४ किलो सुन तस्करी मुद्दाका सबै अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशलाई सदर गरेको छ ।
बिहीबार उच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद पौडेल र हेमन्त रावलको इजलासले सबै अभियुक्तलाई थुनामा पठाउने आदेशलाई सदर गरेको हो ।
अदालतले जिल्ला अदालत काठमाण्डुले थुनामा पठाउने भनी गरेको आदेश मिलेकै देखिएको भन्दै सोही आदेश सदर गरेको छ । जिल्लाले थुनामा पठाउने आदेश गरेपछि अभियुक्तहरू उच्च अदालत गएका हुन् ।
उच्चले सुन तस्करीको अभियोगमा थुनामा रहेका लेकबहादुर तामाङ, रमेश देउला, अनिल श्रेष्ठ, राधाकृष्ण श्रेष्ठ, शेरबहादुर बस्नेत, कृष्णकुमार श्रेष्ठ, मीनबहादुर घले र जीवन गुरुङलाई थुनामा पठाएको छ ।
यसअघि २०८० पुस २३ गते जिल्ला अदालत काठमाण्डुले सुन तस्करी प्रकरणमा पक्राउ परेका ८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
दुबईबाट १४ किलो सुन लिएर आएका गोरखाका चन्द्र घले पक्राउ परेपछि तस्करी प्रकरण खुलेको थियो । विमानस्थल भन्सार कार्यालयले अनुसन्धानका क्रममा १३८ किलो सुन तस्करी गरेको भन्दै बिगो र जरिवाना निर्धारण गरेर मुद्दा दायर गरेको छ ।




प्रतिक्रिया