विद्यार्थी पास गराउन २५ हजार घुस लिने प्राध्यापकविरुद्ध मुद्दा दायर


काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्याली कलेज अफ टेक्निकल साइन्सका प्राध्यापक खेमराज शाहीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

परीक्षामा फेल भएका विद्यार्थीहरुलाई पास गराउने भन्दैप्रति विद्यार्थी २५ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो।

शाहीले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत पब्लिक हेल्थ संकायको गत असोज महिनामा लिइएको चौथो सेमेस्टरको परीक्षामा सामेल बायोस्टाटिस्टिक्स विषयका ६ जना परीक्षार्थीहरूबाट प्रति विद्यार्थी २५ हजार रुपैयाँ लिएका थिए।

बायोस्टाटिस्टिक्स विषयको उत्तरपुस्तिका परीक्षणको जिम्मेवारी पाएका शिक्षक शाहीले आफ्ना साथी अर्जुन भाट र होप इन्टरनेशनल कलेजमा अध्ययनरत प्रवेग कोरालसँग मिलेमतो गरी फेल भएका परीक्षार्थीहरूसँग आर्थिक लेनदेन गरेको अख्तियारले जनाएको छ।

परीक्षाको नतिजा फेरबदल गर्ने कार्यमा शाहीको मतियार भई काम गर्ने अर्जुन भाट र प्रवेग कोरालविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ ले हुने सजायमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक बाक्यांश बमोजिम सजाय हुन मागदाबी लिई मुद्दा दायर गरिएको हो।

प्रतिक्रिया दिनुहोस
Advertisement