मृत्यु भएका व्यक्तिको नाममा भत्ता खाएको मुद्दामा वडा सचिव २ लाख धरौटीमा रिहा

मृत्यु भएका व्यक्तिको नाममा भत्ता खाएको मुद्दामा वडा सचिव २ लाख धरौटीमा रिहा


काठमाण्डु – सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको अभियोग लागेका वडा सचिवलाई धरौटीमा छाड्न विशेष अदालतले आदेश दिएको छ ।

कैलालीको जानकी गाउँपालिका–१ मा कार्यरत वडा सचिव प्रेमबहादुर बुढालाई अदालतले २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश गरेको हो ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले बुढालाई धरौटी बुझाएर थुनामुक्त गर्न आदेश दिएको छ ।

गत असोज ३१ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकी गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष खकेन्द्र भण्डारी र वडा सचिव प्रेमबहादुर बुढासहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । मुद्दामा वडा सदस्यहरू कल्पना खड्का, सुनकोसा सार्की, विजय बहादुर रावल र शेर बहादुर विश्वकर्माका साथै खरिदार पूर्ण बहादुर विष्ट र कार्यालय सहयोगी सोनम कठरियालाई समेत प्रतिवादी बनाइएको थियो ।

आरोप पत्रका अनुसार उनीहरूले मृत्यु भइसकेका व्यक्तिको समेत नाममा भत्ता निकालेको र एउटै नागरिकता प्रयोग गरी दोहोरो सामाजिक सुरक्षा भत्ता लिने लाभग्राही खडा गरेको पाइएको थियो । कुल ६८३ जना लाभग्राहीको अभिलेख बनाई प्रतिवादीहरू आफैंले नक्कली औंठाछाप लगाएर प्रमाणित गरेको र नवीकरण नै नभएका लाभग्राहीको नाममा रकम निकासा गरी सरकारी कोषमा नोक्सानी पुर्‍याएको अख्तियारको आरोप छ ।