प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा फागुन ८ गते साधारण तारेख

प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा फागुन ८ गते साधारण तारेख


काठमाण्डु – प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले फागुन ८ गते साधारण तारेख तोकेको छ ।

बुधबारका लागि साधारण तारेख तोकिएकोमा सर्वाेच्चले पुन: फागुन ८ गते साधारण तारेख दिएको छ ।

रिट निवेदक छिटो पेशी तोकेर सुनुवाइ अगाडि बढाउन माग गरिरहेका बेला सर्वाेच्चले साधारण तारेख दिएको छ । सर्वोच्चले पेशी नचढाएर पुन: साधारण तारेख तोकेपछि रिट निवेदकमध्येका युवराज सफलले आपत्ति जनाएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सम्मानित सर्वोच्च अदालतले पेशी चढाउन नसकी फागुन ८ गतेलाई साधारण तारिख तोकेको छ । तारिख लिन अस्वीकार गरेको छु ।’

यसअघि सर्वोच्चले संसद् विघटन सम्बन्धी रिटहरूमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीसँग लिखित जवाफ माग गरेको थियो । संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्जनभन्दा बढी रिट निवेदन दर्ता भएका छन् । अदालतले ती सबै रिटलाई एकैसाथ राखेर सुनुवाइ गर्ने आदेश यसअघि नै जारी गरिसकेको छ । आदेशअनुसार अब संसद् विघटनसम्बन्धी सबै रिटको सुनुवाइ एउटै इजलासबाट हुनेछ ।