काठमाण्डु – भीड नियन्त्रणका क्रममा प्रहरीले प्रदर्शनकारीको मृत्यु नै हुने गरी हतियार प्रयोग गर्ने गरेको घटना बाहिरिएपछि घातक हतियारको प्रयोग गर्न नदिन सर्वाेच्च अदालतमा रिट दायर भएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भीड नियन्त्रणका लागि प्रयोग गर्ने मेटल बुलेट वा प्राणघातक हतियार प्रयोगमा प्रतिबन्ध लगाउन माग गर्दै आज बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
अधिवक्ता त्रिपाठीको रिटमा भीड नियन्त्रणका लागि अत्याधिक बल प्रयोग एवं हिंसात्मक साधनको प्रयोगलाई बर्जित गर्न माग गरिएको छ । भीड नियन्त्रणको तौरतरिकाबारे प्रदर्शनका बेला खटिने प्रहरीलाई प्रशिक्षण दिन र अनिवार्य तालिममा समावेश गर्न माग गरिएको छ ।
भीड नियन्त्रणका लागि घातक हतियार प्रयोग नगर्दा पनि मानव अधिकारका आधारभूत मापदण्डको पालना गर्न र निहत्था नागरिकमाथि घातक हतियार प्रयोग गरी ज्यान लिनेलाई ज्यान सम्बन्धी कसूरमा अभियोजन गर्न पनि त्रिपाठीले रिटमा माग गरेका छन् ।
रिटको सुनवाइका लागि बिहीबारलाई पेशी तोकिएको जनाइएको छ ।




प्रतिक्रिया