काठमाण्डु – न्यायालय विवादबारे आगामी राणनीति बनाउन नेपाल बार एसोसियसनले देशैभरका इकाई बारसँग छलफल सुरु गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको राजीनामा माग्दै २ सातादेखि आन्दोलन गर्दै आइरहेको बारले आइतबार देशैभरका ९० वटा इकाई बारका पदाधिकारीसँग छलफल सुरु गरेको हो ।
यतिबेला देशैभर रहेका ९० वटा इकाई बारमध्ये ६० वटा इकाई बारका पदाधिकारीहरुको भर्चुअल मिटिङमार्फत छलफल भइरहेको नेपाल बारकी उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् ।
बस्यालका अनुसार बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ लगायतका पदाधिकारी र सदस्यहरु यतिबेला इकाई बारसँग छलफलमा जुटेका हुन् । अहिले इकाई बारका अध्यक्ष वा पदाधिकारीले आ–आफ्ना धारणा राखिरहेका छन् ।
‘प्रधानन्यायाधीशको राजीनामा नआएसम्म कस्ता आन्दोलन गर्ने भनेर हामी यतिबेला जुम बैठक बसिरहेका छौँ,’नेपाल बारका महासचिव लिलामणि पौडेलले भने, ‘सबैको सुझावपछि बेलुका या भोलि बिहानसम्ममा हाम्रो आन्दोलनको स्वरुप तयार हुन्छ ।’
जबराले कार्यपालिकामा भाग खोजेको, न्यायिक सुधार गर्न नसकेकोलगायतका आरोप लगाउँदै सर्वोच्च अदालतका १९ जना न्यायाधीश र नेपाल बार एसोसिएसनले आन्दोलन गरिरहेका छन् ।
सर्वोच्च अदालतका न्यायाधीहरुले गत बुधबारसम्म सर्वोच्च परिसरमै चोलेन्द्रको राजीनामा माग गर्दै भर्ना दिएका थिए । सोही आन्दोलनलाई कसरी अगाडि लैजाने भन्ने विषयमा आगामी रणनीति बनाउन देशैभरका इकाई बारसँग छलफल सुरु गरिएको बस्यालले जानकारी दिइन् ।
न्यायालय सुधारको माग गर्दै आन्दोलनमा होमिएको नेपाल बार एसोसिएसनले यसअघि नै प्रधानन्यायाधीशको राजीनामाबाट मात्रै न्यायालयको सुधार सम्भव भएको निष्कर्ष निकालिसकेको छ ।




प्रतिक्रिया