नेपाली सेनाका दुई अधिकारीलाई कोर्ट मार्सल लगाउने तयारी

नेपाली सेनाका दुई अधिकारीलाई कोर्ट मार्सल लगाउने तयारी

फाइल तस्विर ।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाले २ जना अधिकारीमा कोर्ट मार्सल लगाउने तयारी गरेको छ ।

सैनिक कल्याणकारी कोषको सवा २ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा नेपाली सेनाका सहायक रथी रोशन खड्कामाथि थप कारबाही गर्न कोर्टमार्सल गठन भएको छ ।

सेनाको प्रारम्भिक अनुसन्धानका क्रममा सहायक रथी खड्काले कल्याणकारी कोषमा रहँदा अनियमिततामा संलग्न भएको पुष्टि भएको छ । यस्तै नेपाली सेनाका सेनानी बोधराज कार्कीलाई पनि सोही मुद्दामा कोर्ट मार्सल लगाइने भएको छ । उनीहरू दुबैलाई सैनिक हिरासतमा राखिएको छ ।

यही हिनामिनामा संलग्न रहेका तर अवकाश भइसकेका अन्य २ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको छ । ती मध्ये जमदार आत्माराम थापा पुर्पक्षका लागि थुनामा छन् । अदालतमा मुद्दा दायर भएका पूर्वसेनानी लक्ष्मण अधिकारी फरार छन् ।

हाल अमेरिकामा रहेका उनलाई इन्टरपोलको सहयोगमा नेपाल फिर्ता ल्याउने प्रक्रिया अगाडी बढाइएको छ ।

उनीहरू चारै जनाले सैनिक कल्याणकारी निर्देशनालयमा कार्यरत रहँदा आवास तथा बिमा शाखाबाट आवास तथा बिमा बापतको रकम हिनामिना गरेको आरोप छ ।

उक्त शाखामा रहँदा वास्तविक रुपमा भुक्तानी गर्नु पर्ने व्यक्तिलाई नभई काल्पनिक नाम खडा गरेर रकम निकासा गर्ने र हिनामिना गर्ने कार्य गरेको प्रारम्भिक छानविनको निस्कर्ष छ ।

उनीहरूले २ करोड २१ लाख ५ हजार ५१५ रुपैयाँ ४ पैसा हिनामिना गरेको सेनाको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

२०७४ कात्तिक १३ देखि २०७५ भदौ २६ गतेसम्म १४४ थान चेकबाट एक करोड ४७ लाख २१ हजार ३२९ रुपैयाँ ८८ पैसा र २०७३ फागुन ९ गतेदेखि २०७५ असोज १७ गतेसम्म ४० थान चेकबाट ४७ लाख ६४ हजार १८५ रुपैयाँ ६० पैसा हिनामिना गरेको देखिएको सेनाको प्रारम्भिक अनुसन्धानबाट खुलेका हो ।

थुनामा रहेका जमदार थापाले नक्कली कागजात बनाएर भुक्तानी गर्ने कार्य खड्काको निर्देशनमा भएको बयान दिएका छन् ।