काठमाण्डु – राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको जिनोम सिक्वेन्सिङमा नेपालमा कोरोना भाइरसको नयाँ सवभेरिएन्ट पुष्टि भएको छ । कोरोनाको नयाँ सवभेरिएन्ट ‘केपी.१’ र ‘केपी.२’ भेटिएको हो ।
अल्फा, बेटा, डेल्टा र ओमिक्रोन हुँदै कोरोनाका नयाँ भेरिएन्ट ‘केपी.१’ र ‘केपी.२’ फेला परेका हुन । यी ओमिक्रोनका सवभेरिएन्ट हुन् ।
यो सव भेरियन्ट कति घातक हुन्छ भन्ने अहिलेसम्म यकिन छैन । प्रारम्भिक अध्ययनले भने कम घातक हुने देखाएको छ । जेष्ठ नागरिक र दीर्घरोगीलाई यो सवभेरियन्टले अस्पताललै पुर्याउन जानकारहरू बताउँछन् ।
विश्व स्वास्थ्य संगठनले घातक नभए पनि दीर्घरोगी र बालबालिका सचेत हुनुपर्ने जनाएको छ । दीर्घरोगी तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिको हकमा चनाखो हुनुपर्ने संक्राकम रोग विषेशज्ञहरू बताउँछन् ।
जनस्वास्थ्यविद्हरूका अनुसार कोरोनालाई अहिले नै पूर्णरूपमा नियन्त्रण र उन्मूलन भन्न सकिने अवस्था छैन । कोरोना भाइरस स्थापित भइसकेकाले बेला–बेला फाट्टफुट्ट देखिने सम्भावना रहन्छ ।
नेपालको इतिहास हेर्दा पनि हैजा, क्षयरोग, एचआईभी, बिफर, इन्फ्लुएन्जा, दादुरा लगायत सरुवा रोग देखिएका छन्, जसले अहिले पनि बेलाबेला सताउने गरेका छन् ।
विज्ञहरूका अनुसार नेपालमा साधारण रुघा–खोकीजन्य फ्लुका कारण बर्सेनि हजारौंको मृत्यु हुने गरेको छ । यसअर्थमा पनि कोरोना महामारीको अन्त्य अनुमान गर्न नसकिने र नयाँ भेरियन्टको जोखिम कायमै रहने जनस्वास्थ्यविद्हरू बताउँछन् ।
संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी कोरोनाले स्वरूप परिवर्तन गर्दै आएकाले चनाखो हुनुपर्ने बताए । उनले कोरोनाका नयाँ भेरियन्टको जोखिम सधैं रहन्छ । ‘कोरोनासँग सतर्क रहनुपर्छ । भोलिका दिनमा भेरियन्ट परिवर्तन हुँदा सानो वा ठूलो लहर आउने सम्भावना रहन्छ’, डा. सुवेदीले भने, ‘तर पछिल्लो ओमिक्रोन भेरियन्टले सामान्यता सिकिस्त बनाएको छैन ।’
जेए.वान सवभेरियन्टका कारण मानिस कति जोखिममा पर्छन् भन्नेबारे पत्ता लागि नसकेकाले कस्तो अवस्था आउन सक्छ भन्ने अनुमान गर्न गाह्रो रहेको डक्टरहरूको भनाइ छ । ‘नयाँ सवभेरियन्टले पुनःसंक्रमण गराउन सक्ने अन्य देशको तथ्यांकले स्पष्ट देखाउँला,’ डा.सुवेदीले भने, ‘कोरानाले स्वरूपमा निरन्तर परिवर्तन भइरहेको र फैलनका लागि सहज वातावरण बनाउँदै गएकाले कस्तो अवस्था ल्याउँछ भन्न अहिले यकिन गर्न सकिन्न ।’
हाल अस्पतालमा एन्टिजेन परीक्षणकै प्रयोग हुँदै आएको छ । तर पटक–पटक कोरोना संक्रमण भएर एक तहको रोग प्रतिरोधी क्षमता विकसित भइसकेकाले एन्टिजेन परीक्षणमा पोजेटिभ हुने सम्भावना एकदमै साँघुरो भएको डा. सुवेदी बताउँछन् ।
डक्टरहरू कोरोनाको खोप लगाएका मानिसमा संक्रमण भए पनि जटिलता कम हुने भएकाले अतिरिक्त खोप (बुस्टर) लगाउन सुझाउँछन् ।




प्रतिक्रिया