चितवन – पोखराका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–८ का ७२ वर्षीय वृद्ध रहेका छन् ।
मुटु, मधुमेह, रक्तचाप र निमोनियाको समस्या भई यही वैशाख ५ गते पुरानो मेडिकल कलेज चितवनमा भर्ना भएका उनको उपचारका क्रममा आज बिहान ६ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार उनलाई वैशाख ६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै उनको कोभिड सघन उपचारकक्षमा उपचारका क्रममा मृत्यु भएको हो ।
कोरोना सङ्क्रमित महिलाको मृत्यु
वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१६ नगवा निवासी ६१ वर्षीया महिलाको राति १ः१५ बजे उपचारका क्रममा मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या, कडा निमोनिया तथा उच्च ज्वरो भएकी महिलालाई यही वैशाख ५ गते अस्पताल भर्ना गराइएकामा उपचारकै क्रममा राति मृत्यु भएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डा सरोजरोशन दासले जानकारी दिए । उनले यही वैशाख ३ गते नै सङ्क्रमण पुष्टि भएर महिलालाई होम क्यारेन्टिनमा राखिएको भए पनि स्वास्थ्यावस्था बिगिँ्रदै गएपछि अस्पतालको सघन उपचार कक्षमा भर्ना गरी उपचार हुँदै आएको बताए ।
यसैसँगै कोरोना सङ्क्रमणकै कारण पर्सामा मृत्यु हुनेको सङ्ख्या ५९ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पछिलो एक साताभित्र कोरोना सङ्क्रमणकै कारण जिल्लामा छ सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।




प्रतिक्रिया