किन बढ्दैछ ‘पूर्ण मात्रा’ खोप लगाएका व्यक्तिमा कोरोना संक्रमण ?

किन बढ्दैछ ‘पूर्ण मात्रा’ खोप लगाएका व्यक्तिमा कोरोना संक्रमण ?


काठमाण्डु – नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमण दर तीव्र गतिमा फैलिन थालेको छ । हाल नेपालसहित विश्वका अधिकांश देशमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिइरहेको छ ।

यो भेरियन्टबाट स्वास्थ्यकर्मी, पत्रकार लगायत अधिकांश पूर्ण मात्रा खोप लगाएकाहरु संक्रमित भएका छन् । नेपालमा गत वर्षको माघ दोस्रो सातादेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन थालिएको थियो ।

माघमा पहिलो र वैशाखमा दोस्रो डोज खोप लगाएका अधिकांश व्यक्तिहरु अहिले धमाधम संक्रमित भइरहेका छन् । त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, भरतपुर अस्पताल लगायत देशका धेरैजसो अस्पतालहरुमा कोरोना संक्रमित बढ्दै गएका छन् ।

नेपालमा ओमिक्रोन भेरियन्टसहितको कोरोना संक्रमण बढ्दै जाँदा ५ सय भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा कृष्ण प्रसाद पौडेलले बताए । त्यस्तै फ्रन्टलाइनमा कार्यरत पत्रकार, सुरक्षाकर्मी लगायत दुबै डोज खोप लगाएका नेताहरु समेत ओमिक्रोनबाट संक्रमित भएका छन् ।

उनीहरूले दुवै डोज खोप लगाएको ६ महिना पूरा भइसकेको र शरीरमा खोप र प्राकृतिक रुपमा बन्ने एन्टिबडी कमजोर हुँदा पूर्ण मात्रा डोज खोप लगाएकाहरु संक्रमित भइरहेको डा पौडेलले बताए ।

‘खोप लगाएको ६ महिना कटेपछि शरीरमा खोपले बनाएको एन्टिबडी घट्दै जाने हुन्छ । त्यसमाथि अहिलेको ओमिक्रोन भेरियन्टले खोपले बनाउने एन्टिबडीलाई कमजोर बनाइदिने भएकाले पूर्ण मात्रा खोप लगाएकाहरुमा संक्रमणदर बढ्दो छ,’ उनले भने ।

ओमिक्रोन भेरियन्ट फैलिदै जाँदा यसले खोपले बनाएको एन्टिबडीलाई पनि कमजोर बनाउने अध्ययनहरुले देखाएकाले उनको भनाई छ । त्यस्तै डा पौडेलले दोस्रो लहरको संक्रमणदर कम हुँदै जाँदा स्वास्थ्यका मापदण्ड पूर्ण पालना नगरिँदा संक्रमण बढेको बताए ।