टक खाती, काठमाण्डु – नेपालमा पछिल्लो समय कोरोना संक्रमणदर बढिरहेको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित दिनहुँ बढिरहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिले देखिएको कोरोनाभाइरसको नयाँ लहर खतरनाक भएको संकेत गरिसकेको छ ।
अहिले नेपालमा कोरोनाको तेस्रो लहर सुरु भएको हो । पौष २५ गते पुष्टि हुने सङ्क्रमितको सङ्ख्या १ हजार नाघेको विवरण आएकोमा नौ दिनपछि माघ ४ गते मङ्गलवार सरकारले २४ घण्टाको अवधिमा १० हजार जनाभन्दा बढी सङ्क्रमित फेला परेको तथ्याङ्क सार्वजनिक गर्यो । खासगरी ओमिक्रोन अतिसङ्क्रामक रहेकाले सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको विज्ञहरू बताउँछन ।
त्यस्तै बुधवार ११ हजार ३०० भन्दा बढी संक्रमित फेला परेका थिए भने बिहीबार १२ हजार ३३८ जनामा संक्रमण पुष्टि भएको थियो । नेपालमा कोभिड महामारी सुरु भएपछि दैनिक पुष्टि भएको यो नै सङ्क्रमितको सर्वाधिक सङ्ख्या हो ।
यसैबीच कोरोना महामारी रोकथामका लागि सरकारले माघ मसान्तसम्म आमसभा, जुलुस, भेला सञ्चालन नगर्ने, माघ १५ गतेसम्म विद्यालय, फिल्म हलसहितका मनोरञ्जन क्षेत्र बन्द गर्ने, माघ ७ गतेदेखि सार्वजनिक सेवा लिँदा खोप कार्डलाई अनिवार्य गर्नुका साथै भिडभाड नगर्ने निर्णय गरेको थियो ।
पछिल्लो समय कोरोना संक्रमणदर बढेसँगै खोप केन्द्रमा खोप लगाउनेको भिड पनि उत्तिकै बढेको छ । खोप केन्द्रहरूमा खोप लगाउनेको व्यापक भिड हुँदा त्यहीँबाट कोरोना महामारी फैलिन सक्ने उच्च जोखिम रहेको छ ।
सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि २५ जना भन्दा बढी एक ठाँउमा जम्मा हुन नपाइने भने पनि खोप केन्द्रमा भने सयौँ मानिस जम्मा हुने गर्दछन् । खोप लगाउनेहरुको भिड व्यवस्थापन गर्नको लागि सरकारले हालसम्म केही चासो देखाएको छैन् । खोप केन्द्रमा खोप लगाउन जम्मा भएका हरुमध्ये एक जनामा पनि कोरोना संक्रमण छैन भन्न पनि सकिँदैन । तर, सरकार भने यो विषयमा मौन बसेको छ ।
के भन्छन् खोप लगाउन लाइन बस्ने सर्वसाधारण ?
काठमाण्डुको थापाथलीस्थित प्रसुतीगृहमा खोप लगाउन पुगेका प्रकाश चन्द मानिसहरूबीच आपसमा दूरी नहुँदा कोरोना संक्रमण हुने उच्च जोखिम रहेको बताउँछन् । लाइनमा घन्टौँ कुरेपछि मात्र पालो आउने चन्दले गुनासो गरे ।
‘बिहान कोठाबाट खोप लगाउनको लागि निस्किँदा त आज खोप लगाउन पाइन्छ भनेर खुसी लागेको थियो । तर के गर्नु यहाँ पुगेपछि त्यो खुसी हरायो,’ काठमाण्डुपाटीसँगको कुराकानीमा उनी भन्छन्, ‘घन्टौँ कुरेपछि मात्र पालो आउने रहेछ । खोप लगाउनेहरूबीच सामाजिक दूरी पनि थिएन । कोही कोही त चिउँडोमा मास्क लगाएका पनि भेटिए । त्यो देख्दाँ झनै डर लाग्यो । अब कोरोना खोप लगाउन गएकोलाई त्यहाँबाट नै कोरोना संक्रमण पुष्टि हुने अवस्था रहेछ ।’
त्यसैगरी कोरोना खोप लगाउन त्यहीँ पुगेका अर्का बसन्त जोशीले पनि कोरोना संक्रमणको उच्च जोखिम रहेको बताए । ‘म कोरोनाको खोप लगाउन गएको थिए । तर त्यहाँ पुगपेछि जात्रामा पुगे जस्तो भयो । त्यो भद्रगोल अवस्थाले त झनै कोरोना सर्ने डर लाग्यो । सरकार भिडभाड नगर्ने मात्र भन्छ, त्यो के भिडभाड होइन । त्यहाँ जम्मा भएका सबै सुरक्षित छन भन्न सकिन्छ ? या त खोप केन्द्रहरुमा खोप लगाउन गएकालाई कोरोना संक्रमण नै हुँदैन् । कोरोना भएपनि खोप केन्द्रमा पुगेपछि कोरोना हराउँछ ?’ उनले प्रश्न गर्दै भने ।
जोशीले सरकार यस विषयमा जानकार हुँदाहुँदै पनि मौन बसेको गुनासो समेत गरे । उनले भने, ‘हुँन त सरकारलाई किन थाहा नहोला र खोप केन्द्रहरुमा खोप लगाउनेको भिडले गर्दा महामारी फैलिने उच्च जोखिम रहेको छ भन्ने कुरा । तर, सरकारको कोरोना भाइरस नियन्त्रण गर्ने जुन उदेश्य छ । त्यो पूरा गर्न सबै भन्दा पहिले खोप लगाउनेको भिडलाई व्यवस्थापन गर्नु पर्छं ।
के भन्छ सरकार ?
सरकारले भने खोप केन्द्रमा खोप लगाउनेहरुको भिडलाई स्वभाविक रुपमा लिएको छ । पछिल्लो समय कोरोना संक्रमणदर बढेकाले खोप लगाउनेको भिड स्वभाविक भएको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले काठमाण्डुपाटीलाई बताए ।उनले भने, ‘पछिल्लो समय नेपालमा कोरोना संक्रमणदर बढि रहेको छ । अब कोरोना संक्रमणदर बढे पछि खोप लगाउनेको भिड हुनु त स्वभाविक हो नी ।’
सरकार कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि सक्रिय भएको पनि पोखरेलले दाबी गरे । कोरोना संक्रमण फैलिन नदिन भिडभाड नगर्न बारबार भने पनि त्यो पालना नभएको उनले बताए । त्यसैगरी उनले पछिल्लो समय खोप केन्द्रमा खोप लगाउनेहरुको भिडभाड व्यवस्थापन गर्नको लागि सरकारले खोप केन्द्र पनि बढाइरहेको दाबी गरे ।
पोखरेलले काठमाण्डुपाटीसँगको कुराकानीमा भने, ‘हामीले बारम्बार भिडभाड नगर्नुहोस भनिरहेका छौँ । तर मान्दैँनन् । अब लाठी चार्ज गरौँ भने पनि भएन । सामाजिक दुरी कायम राख्नु पर्छ भन्ने कुरा सबैले बुझ्नु पर्छ नी । अर्को कुरा कोरोना संक्रमणदर बढेसँगै खोप लगाउनेहरुको भिड लागेको छ । यो भिडबाट पनि कोरोना संक्रमण फैलिने उच्च जोखिम रहेको छ । सरकार यस विषयमा पनि मौन त बसेको छैन । हिजोको दिनहरुमा भन्दा आज खोप केन्द्रहरुमा भिडभाड कम छ । सरकारले ठाँउ ठाँउमा खोप केन्द्र बनाइरहेको छ । हामीले गर्न सक्ने हामीले गर्ने हो । नागरीकले पनि यो कुरा बुझिदिनु पर्यो ।’
पोखरलले पछिल्लो समय कोरोना संक्रमण तिव्र गतिमा फैलिरहेकाले स्वास्थ्य मापदण्ड अपनाउन पनि आग्रह गरे । ‘पछिल्लो समय कोरोनाले महामारीको रुप लिएका छ । कोरोनाबाट बच्नको लागि स्वास्थ्य मापदण्ड अपनाउनु आवश्यक छ । त्यसकारण सबैले सामाजिक दुरि लगायत खानपिनमा ध्यान दिन आग्रह गर्दछु,’ पोखरेलले भने ।




प्रतिक्रिया