काठमाण्डु – सरकारले १८ वर्षमाथिका सबैलाई कोरोना भाइरसविरुद्धको खोप दिने तयारी गरेको छ । नविनयुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो मन्त्रिपरिषद् बैठकले यसै वर्ष सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने निर्णय गरेसँगै मातहतका निकायले खोपको कामलाई तीव्रता दिएका हुन् ।
स्वास्थ्य मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाउने योजना तयार भैसकेको जानकारी दिएको हो । मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले आवश्यक खोपकोसमेत व्यवस्थापन भैसकेको र केही जिल्लामा खोप पठाइसकिएको जानकारी दिए ।
हाल भने ५५ वर्षमाथिका नागरिकहरुलाई खोप लगाउने कार्य जारी छ । चरणचद्ध रुपमा सबै नागरिकलाई छिट्टै निःशुल्क खोप उपलब्ध गराइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
खोप आपूर्ति समस्याको समाधान भैसकेको मन्त्रालयको दाबी छ । सहप्रवक्ता अधिकारीका अनुसार यही साउन ६ गतेसम्म चीनबाट खरिद गरिएको थप खोप आइपुग्ने छ भने १६ गतेसम्म ३२ लाख खोप भित्रिसक्ने छ । त्यसपछि निरन्तर आवश्यक खोप आउनेछ ।
प्रतिक्रिया