एक महिनामा ४८ लाख बढीले लगाए कोरोनाविरुद्धको खोप

एक महिनामा ४८ लाख बढीले लगाए कोरोनाविरुद्धको खोप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पछिल्लो एक महिनामा ४८ लाख बढीले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार साउन १ देखि भदौ ३ गते बिहीबारसम्म ४८ लाख ११ हजार ७ सय ३३ जनाले कोरोना विरुद्धको खोप लगाएका हुन् ।

त्यसअघि केपी ओली नेतृत्वको सरकारका पालामा करिब ३६ लाखले खोप लगाएका थिए । भदौ ३ गतेसम्म कोरोना भाइरसविरुद्धको खोप लगाउनेको संख्या ८५ लाख २० हजार ४ सय २१ पुगेको छ ।

त्यसमध्ये ३७ लाख ८ हजार ६ सय ८८ जनाले दुवै डोज खोप लगाएका छन् । अहिले कोरोनाको दुवै डोज खोप लगाउनेको जनसंख्या कुल जनसंख्याको १३ प्रतिशत पुगेको छ ।

कांग्रेस सभापति शेरबहादर देउवा प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै आफ्नो पहिलो प्राथमिकता जनतालाई निःशुल्क खोप दिलाउने घोषणा गरेका थिए । सोही अनुरुप सरकारले असोज मसान्तसम्ममा ३३ प्रतिशत नागरिकलाई र चैतसम्म सबैलाई खोप लगाउने घोषणा गरेको छ ।

देउवा प्रधानमन्त्री हुनुभन्दा अघि दुवै डोज खोप लगाउनेको संख्या ३ दशमल ९ प्रतिशतमात्रै थियो भने पहिलो डोज खोप लगाउनेको संख्या ९ दशमलव १ प्रतिशतमात्रै थिए । पछिल्लो पाँच हप्तामा कोरोनाको खोप लगाउनेको संख्या झण्डै दोब्बर पुगेको हो ।