काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियानमा उत्साहजनक सहभागीता रहेको जानकारी दिएको छ ।
खोप अभियान सुरू भएको तीन दिनमा ७७ वटै जिल्लाका एक सय ९६ खोप केन्द्रमार्फत् ४६ हजार १९७ जना फ्रन्टलाइनरले कोभिड खोप लगाएका छन् । सबैभन्दा धेरै बागमती प्रदेशबाट १५ हजार छ सय ४१ जनाले खोप लगाएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकरी दिए ।
त्यसैगरी प्रदेश १ बाट सात हजार तीन सय ६९ जनाले खोप लगाएका छन् । प्रदेश २ बाट चार हजार छ सय ५०, गण्डकी प्रदेशबाट सात हजार एक सय ५३, लुम्बिनी प्रदेशबाट चार हजार छ सय ३५, कर्णाली प्रदेशबाट दुई हजार नौ सय ६६ जना र सुदूरपश्चिम प्रदेशबाट तीन हजार सात सय ८३ जनाले कोरोना भाइरसविरुद्धको लगाएका छन् ।
१० दिनभित्रमा सबै फ्रन्टलाइनरलाई खोप लगाइसक्ने सरकारको तयारी छ । मन्त्रालयका अनुसार पहिलो चरणमा चार लाख ३० हजार फ्रन्टलाइनरलाई खोप दिइनेछ । अहिले स्वास्थ्यकर्मी, फोहोरमैला व्यवस्थापनमा खटिने फोहोर संकलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयं सेवकहरूलाई खोप लगाउन थालिएको छ ।
त्यस्तै वृद्धाआश्रममा रहेका व्यक्ति, हेरचाह तथा व्यवस्थापनमा खटिने कर्मचारी र जेलमा रहेका कैदी तथा सुरक्षाकर्मीहरू पनि खोपको प्राथमिकतामा छन् । खोप अभियानको पहिलो दिन ११ हजार ८४ जनाले खोप लगाएका थिए । दोस्रो दिन १८ हजार सात सय ३२ जनाले खोप लगाएका थिए ।
त्यस्तै खोप लगाएकामध्ये एक दुई जनामा स्वास्थ्य समस्या देखिन थालेको छ । कर्णाली प्रदेशमा कोरोनाविरुद्धको खोप लगाएकामध्ये एक जनामा गम्भीरखालको स्वास्थ्य समस्या देखिएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश वीरेन्द्रनगरका निर्देशक डा. रोविन खड्काले जानकारी दिए । त्यहाँ तीन दिनको अवधिमा खोप लगाएकामध्ये २६ जनालाई सामान्य खालको स्वास्थ्य समस्या देखिएको निर्देशक खड्काको भनाइ छ ।
त्यस्तै शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा पहिलो दिन खोप लगाएका २३ जनामा सामान्य खालको स्वास्थ्य समस्या देखिएको डा. अनुप बाँस्तोलाले जानकारी दिए । उनले कोरोनाविरुद्धको खोप लगाइसकेपछि डाबर आउने, रिंगटा लाग्ने, वाकवाकी आउने, टाउको दुख्ने, कमजोर भएको महसुस हुने, खोप लगाएको ठाउँमा दुख्ने, सुन्निने आदि समस्या देखिएको बताए ।
यता त्रिवि शिक्षण अस्पताल टिचिङमा पनि एकजना स्वास्थ्यकर्मीलाई खोप लगाउनेबित्तिकै सामान्य स्वास्थ्य समस्या देखिएको थियो ।
खोप लगाएका केही व्यक्तिहरूमा सामान्य असरहरू देखिए पनि केही समयपछि आफै निको भएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए ।




प्रतिक्रिया