एजेन्सी – चिनियाँ कम्युनिष्ट पार्टीले पार्टीका एकजना उच्च अधिकारीलाई पार्टीबाट निष्कासन गरेको छ । सिपीसीले पार्टी अनुशासन र कानुनको गम्भीर उल्लंघन गरेको आरोपमा चिनियाँ प्रहरीका उपप्रमुख फु झेङहुवालाई पार्टीबाट निष्कासन गरेको हो । उनि २०१८ देखी २०२० सम्म चीनको न्यायमन्त्री समेत थिए ।
फुमाथि गत अक्टोबरदेखि नै अनुसन्धान भइरहेको थियो । सिन्ह्वाका अनुसार उनलाई पार्टीको केन्द्रीय अनुशासन निरीक्षण आयोग र राष्ट्रिय सुपरीवेक्षण आयोगले बिहीबार पार्टीबाट निस्काशन गर्ने निर्णय गरेको हो । यससंगै उनले अव सार्वजनिक पद धारण गर्न मिल्ने छैन । फुमाथि फौजदारी अभियोगमा मुद्दा चल्नेछ ।
६७ वर्षीय झेङहुवा चिनियां कम्युनिष्ट पार्टीमा प्रभाव भएका नेताका रुपमा चिनिन्थे । उनले सन् २०१३ मा चीनका पूर्वसुरक्षा प्रमुख झोउ योङकाङविरूद्धको अनुसन्धानको नेतृत्व समेत गरेका थिए । २०१५ योङकाङलाई आजीवन काराबास सजाय सुनाइएको थियो ।
झेङहुवा सन् २०१८ देखि २०२० सम्म चीनका न्याय मन्त्री थिए । केन्द्रीय अनुशासन निरीक्षण आयोगले फुमाथि निकै गम्भिर आरोप लगाएको छ । उनले पार्टी र जनताप्रति धोका दिएको, अत्यधिक राजनीतिक महत्वकांक्षा बढेको र व्यक्तिगत राजनीतिक लक्ष्यहरु प्राप्त गर्न प्रयास गरेको बताइएको छ ।
उनलाई पूर्व सार्वजनिक सुरक्षा उपमन्त्री सुन लिजुनको गुटमा लागेको र पार्टीको केन्द्रीकृत र एकीकृत नेतृत्वलाई कमजोर बनाउन प्रमुख मुद्दाहरुमा झुटो आरोप लगाउने गरेको र केन्द्रीय अधिकारीहरुलाई समेत धोका दिएको विज्ञप्तिमा उल्लेख छ ।
उनले कानुनको उल्लंघन गरेर बन्दुक राखेको आरोप समेत छ । फुमाथी घुस समेत लिएको र १८ औं नेशनल कांग्रेसपछी पनि आफ्ना गतिविधिहरुलाई जारी नै राखेको भन्दै कार्वाही गरिएको जनाइएको छ ।




प्रतिक्रिया