काठमाण्डु – पार्टीको ११ औं महाधिवेशनका लागि नेकपा (एमाले)ले शनिबार देशभर प्रतिनिधि चयन गर्दैछ ।
एमाले केन्द्रीय कार्यालयका अनुसार यसका लागि मंसिर ११ गते सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि निर्वाचनका लागि उम्मेदवारी मनोनयन भएको छ। केही जिल्लामा भने प्रतिनिधि सर्वसम्मत छानिसकेका छन् ।
एमालेका संगठित सदस्य ६ लाख ६७ हजार ६३० बाट प्रतिनिधि चुनिदै छन् । झण्डै २२ सय प्रतिनिधि रहने महाधिवेशनका लागि यसपटक प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना युवा प्रतिनिधिको कोटा सुरक्षित गरिएको छ ।
संघीय निर्वाचन क्षेत्रबाट खुला, महिला, दलित तथा युवासहित करिब २ हजार प्रतिनिधि छानिँदै छन्। यस्तै प्रवास, जनसंगठन र विभागहरूबाट करिब १ सय प्रतिनिधि छनोट हुनेछन्।
कात्तिक १५ गते बसेको केन्द्रीय सचिवालय बैठकले गरेको निर्णय अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई आधार मानी प्रति १२०० सदस्य खुला दुई र महिला एक निर्वाचित गर्नुपर्नेछ।
यसरी प्रतिनिधि छान्दा एक जना ४० वर्ष भन्दा कम उमेरका युवा अनिवार्य हुनुपर्ने छ। यस्तै प्रति ८ सय सदस्य एक प्रतिनिधि, जसमा महिला निर्वाचित गर्ने विधि तय गरिएको गौतमले जानकारी दिए।
दलितका लागि प्रति पाँच सय सदस्य एक प्रतिनिधि निर्वाचित गर्नुपर्ने विधि राखिएको छ। ट्रेड युनियनमा प्रदेशबाट सात जना प्रतिनिधि रहनेछन्।
जनसंगठनबाट प्रतिजनसंगठन पाँच जनाको प्रतिनिधित्व रहनेछ। महासङ्घीय ढाँचामा रहेका जनसंगठनबाट भने सात जनाको प्रतिनिधित्व रहनेछ।
विभाग र कार्यालयबाट एक एक जनाको प्रतिनिधित्व रहनेछ। प्रवासबाट महादेश अनुसार पाँच जनाको प्रतिनिधित्व रहनेछ। केन्द्रीय कमिटीबाट ३५४ जना स्वतः प्रतिनिधि हुनेछन्।
त्यस्तै अनुशासन आयोगबाट २९, लेखा आयोगबाट ३०, निर्वाचन आयोगबाट २५, सल्लाहकार परिषद् बाट २५ जना प्रतिनिधि रहनेछन्। यी कमिटीबाट जम्मा ४६४ जना स्वतः प्रतिनिधि हुनेछन्।
एमालेको कुल संगठित सदस्य संख्या ६ लाख ६७ हजार ६३० सदस्य मध्ये प्रदेशबाट ४५, प्रतिनिधि सभाको निर्वाचन क्षेत्रबाट करिब ९७०, विशेष जिल्लाबाट ४७, दलितबाट ८१, ट्रेड युनियनबाट ४९, यस्तै प्रवासबाट, केन्द्रीय विभाग र कार्यालयबाट, जनसंगठनबाट सहित गरी अनुमानित १९ सय भन्दा बढी प्रतिनिधि रहनेछन्।
पाँच प्रतिशत प्रतिनिधि केन्द्रीय कमिटीले मनोनयन गर्नेछ। यी सबै जोड्दा कुल २१ सय भन्दा बढी प्रतिनिधि रहने अनुमान गरिएको छ।
मनोनीतसमेत गरेर एमालेको एघारौँ महाधिवशेनमा करिब २२ सय प्रतिनिधि सहभागी हुनेछन्। शुक्रबार साँझसम्म सहमतिका लागि अन्तिम प्रयास गर्ने र नभएमा शनिबार निर्वाचन प्रक्रियामा गएर प्रतिनिधि छनोट गर्न निर्देशन जारी भइसकेको छ ।
महाधिवेशन प्रतिनिधिका लागि तोकिएको कोटाभन्दा बढी उम्मेदवार भएपछि धेरै ठाउँमा चुनावमै जानुपर्ने अवस्था आएको छ ।
पार्टीको संगठन विभागले ५ बुँदे निर्देशन जारी गर्दै कुनै पनि बहानामा प्रतिनिधि छनौटलाई नसार्न भनिसकेको छ । सबै प्रतिनिधिको नामावली पठाउन सोमबारको अन्तिम दिन तोकिएको छ ।




प्रतिक्रिया