निर्वाचन आचारसंहिताबारे एमालेले गरायो आयोगको ध्यानाकर्षण (पूर्णपाठ)

निर्वाचन आचारसंहिताबारे एमालेले गरायो आयोगको ध्यानाकर्षण (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले स्थानीय निर्वाचन आचारसंहिताबारे निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । बिहीबार दिउँसो १ बजे पार्टी महासचिव शंकर पोखरेलसहितको टोलीले आयोग पुगेर आयोगका प्रमुख आयुक्त दिनेश थपलियालाई निर्वाचन आचारसंहिताबारे ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।

आचारसंहिता निर्माणको क्रममा आफुहरुसँग छलफल नगरेको भन्दै निर्वाचन आयोगको पछिल्लो भूमिकालाई लिएर एमालेले आपत्ति जनाउँदै आएको छ ।

प्रमुख आयुक्त दिनेश थपलियालाई बुझाइएको ध्यानाकर्षण पत्रमा एमालेले आयोगको भूमिकाका कारण मंगलबार भएको छलफल कार्यक्रम पनि तनावपूर्ण भएको र चुनावमा भाग लिने उम्मेदवार, राजनीतिक दल र उनीहरुका भातृ संस्थालगायतले भोट माग्न नपाउने व्यवस्थालाई पुर्नविचार गर्न माग गरिएको छ ।

‘निर्वाचन भनेको मत माग्ने मात्र नभई दलहरूले आफ्नो विचारद्वारा जनतालाई प्रशिक्षित गर्ने माध्यम पनि हो। संविधानको धारा २६९ को उपधारा (१) ले यसको प्रत्याभुति गरेको छ’, उनले भने, ‘यो जनतालाई साक्षी राखी ‘विचार तथा व्यवहार’ बीच गरिने प्रतिस्पर्धात्मक अभ्यास पनि हो । तर आचारसंहिताको यस्तो प्रावधानले दलका विचार, नीति, कार्यक्रमको तुलना गरी श्रेष्ठतम् दल रोज्ने जनताको संवैधानिक हकलाई समेत कुण्ठित गर्नेछ । अतः यस प्रावधानलाई पुनर्विचार गरिनुपर्छ ।’

त्यसैगरी एमालेले नयाँ उम्मेदवार हुने जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने आयोगको व्यवस्थामा पनि आपत्ति जनाएको छ । ‘दफा ३६ मा कुनै स्थानीय तहमा उम्मेदवार हुने जनप्रतिनिधिले पदबाट राजीनामा गर्नुपर्ने व्यवस्था त स्वयम् निर्वाचन आयोगले वैशाखभित्र हरहालतमा निर्वाचन सम्पन्न गरिसक्नुपर्ने र एकदिन पनि स्थानीय तह खाली राख्न नहुने भन्ने पूर्व मान्यता विपरीत छ’, ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘पदको दुरूपयोग गर्न नदिन आयोगसँग यथेष्ट वैकल्पिक उपाय छन् । तर स्थानीय सरकारको निरन्तरताको सिद्धान्त र ‘खाली गर्ने नहुने गरी संविधानले गरेको स्थानीय तहको व्यवस्था प्रतिकुल हुने यो प्रावधानमाथि पुनर्विचार गर्न हाम्रो दल आग्रह गर्दछ ।’

यसअघि मंगलबार आयोगले चुनावमा भाग लिने राजनीतिक दलहरुलाई आचारसंहितामा हस्ताक्षर गर्न छलफलका लागि बोलाएको थियो । तर एमालेले उक्त आचारसंहितामा गम्भीर त्रुटि रहेको भन्दै आचारसंहिता पालनामा लिखित हस्ताक्षर नगरी फर्किएको थियो ।