काठमाण्डु- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानलाई ११३ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमै समेटिएपछि नेपालले शानदार जित निकालेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६३ रन बनाएको थियो। जवाफमा ओमानले नेपाली बलरहरूको कसिलो बलिङ सामना गर्न नसक्दा १५० रनमै सबै विकेट गुमायो।
ओमानका कप्तान विनायक शुक्लाले सर्वाधिक ७७ रन बनाए। जय ओडेड्राले २५ रन जोडे पनि अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्।
नेपालको जितमा नन्दन यादव र सन्दीप लामिछानेले समान ३–३ विकेट लिए। नन्दनले ६ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए भने सन्दीपले ९ ओभरमा २८ रन दिए। दीपेन्द्रसिंह ऐरीले २ विकेट हात पारे।
रोहितको अर्धशतक, करणको विस्फोटक ब्याटिङ
त्यसअघि ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए। उनले ६७ बलमा ३ चौका र १ छक्का प्रहार गरे।
ओपनर अर्जुन कुमालले ४० रन बनाए भने ईशान पाण्डे र बसिर अहमदले समान ३७ रनको योगदान दिए। दीपेन्द्रसिंह ऐरीले १७ बलमा २२ रन जोडे। सन्दीप जोराले १० रन बनाए।
अन्तिम क्रममा आएका करण केसीले आक्रामक ब्याटिङ गर्दै नेपालको स्कोर उकासे। उनले मात्र १६ बलमा ४ छक्का र १ चौकाको मद्दतमा अविजित ४० रन बनाए। नन्दन यादव ७ रनमा अविजित रहे।
नेपालले अन्तिम पाँच ओभरमा ५२ रन जोड्दै प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो।
ओमानका बलरमध्ये शाह फैसल, शकील अहमद र करण सोनावालेले समान २–२ विकेट लिए भने हसनैन शाहले १ विकेट हात पारे।
लिग–२ मा नेपालको लगातार दोस्रो जित
नेपालले यसअघि क्यानडालाई २४ रनले पराजित गरेको थियो। ओमानले पनि आफ्नो अघिल्लो खेलमा क्यानडालाई ४१ रनले हराएको थियो। लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएका दुई टोलीबीच नेपालले बाजी मारेको हो।
विश्वकप लिग–२ को अंकतालिकामा नेपाल छैटौँ स्थानमा रहँदा ओमान चौथो स्थानमा छ। प्रतियोगिताको शीर्ष ६ मा रहने टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउनेछन्। पुछारका दुई टोलीले भने मान्यता जोगाउन विश्वकप क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ।
ओमानमाथिको फराकिलो जितले नेपाललाई लिग–२ मा महत्वपूर्ण अंक दिलाएको छ। एकदिवसीय मान्यता जोगाउने लक्ष्यमा रहेको नेपालका लागि आगामी खेलहरूमा पनि जितको लय कायम राख्नु महत्त्वपूर्ण हुनेछ।



प्रतिक्रिया