काठमाण्डु – एसीसी यू–१९ एसिया कपको फाइनलमा प्रतिद्वन्दी भारतविरुद्ध १९१ रनको फराकिलो जीत निकाल्दै पाकिस्तान च्याम्पियन बनेको छ ।
आईतबार युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबईमा सम्पन्न फाइनलमा पाकिस्तानले प्रस्तुत गरेको ३४८ रनको लक्ष्य पछ्याउने क्रममा भारत २६.२ ओभरमा १५६ रनमै समेटिएको छ ।
भारतबाट नवौं नम्बरमा ब्याटिङका निम्ति आएका दीपेश देवेन्द्रनले सर्वाधिक ३६ रन बनाए । ओपनर वैभव सूर्यवंशीले १० बलमा २६ रन जोडे । खिलाल पटेलले १९, रोग जर्जले १६ र अभिज्ञान कुन्डुले १३ रन थपे । भारतलाई सस्तैमा समेट्न पाकिस्तानका अली राजाले ४ विकेट लिए । ६.२ ओभर बलिङ गरेका उनले ४२ रन खर्चिए । मोहम्मद सायम, अब्दुल सुभन र हुजैफा अहसानले समान २ विकेट लिए ।
ओपनर समीर मिन्हासले शानदार इनिङ खेलेपछि टस हारेर ब्याटिङमा आएको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३४७ रनको विशाल योगफल खडा गरेको थियो ।
पाकिस्तानका ओपनर मिन्हासले सर्वाधिक १७२ रन बनाए । उनले ११३ बलमा १७ चौका र ९ छक्का प्रहार गरे । अहमेद हुसैनले ५६ रन जोडे । उस्मान खानले ३५, कप्तान फर्हान युसुफले १९ र अर्का ओपनर हम्जा जहुरले १८ रन थपेका थिए ।
भारतका दीपेश देवेन्द्रनले ३ विकेट लिए । हेनिल पटेल र खिलान पटेलले समान २ विकेट लिँदा कनिस्क चौहानले १ विकेट हात पारेका थिए ।




प्रतिक्रिया