बंगलादेशसँग नेपालको लज्जास्पद हार, नेपाल समूह चरणबाटै बाहिरियो


ढाका – बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम एसिया कपमा नेपाल बंगलादेशसँग ८ विकेटले पराजित भएको छ । समूह चरणको अन्तिम खेलमा नेपालले दिएको १३९ रनको झिनो लक्ष्य बंगलादेशले २४ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो ।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाउँदै मात्र १३८ रनको योगफल बनायो । नेपालका लागि सोमपाल कामीले सर्वा्धिक ३८ रन जोडे । यसअघि भएका दुई खेलमा शून्य रनमै आउट भएका कप्तान ज्ञानेन्द्र मल्लले २२ रन जोडे भने करण केसीले १८ रनको योगदान गरे । अन्य ब्याट्स्म्यानले भने राम्रो योगफल तयार गर्न सकेनन् ।

ओपनिङमा अगाडिका दुई खेलभन्दा टिकेर खेले पनि ओपनर कुशल भुर्तेल १० रनमा आउट भएपछि नेपालले लगातार विकेट गुमाउन पुग्यो । आठौं क्रममा आएका सोमपाल र नवौं क्रममा आएका करणले नेपालको योगफलमा केही सुधार गरे पनि सन्तोषजनक भने हुन सकेन ।

नेपाललाई सस्तैमा समेट्न बंगलादेशका सुमोन खान र मिन्हादुल अफ्रिदीले ३/३ विकेट लिए । त्यस्तै तनवीर इस्लाम र महेदी हसनले २/२ विकेट हात पारे ।

जवाफमा दोस्रो ब्याटिङ गर्न आएको बंगादेशका लागि कप्तान नजमुल हसन शान्तोले अर्धशतक हाने । नटआउट रहेका उनले २ छक्का र ६ चौकाको मद्दतमा ५९ रन जोडे । त्यस्तै ओपनर मोहमद नइमले ४५ रन जोडे ।

नेपालका लागि करण केसी र शुसन भारीले १/१ विकेट लिए ।

बंगलादेशसँगको हारसँगै नेपाल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । बंगलादेशले भने शतप्रतिशत नतिजा निकाल्दै अर्को चरण प्रवेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement