काठमाण्डु- नेपालले एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । मंगलबार भएको फाइनलमा घरेलु टोली मलेसियालाई २२१ रनको फराकिलो अन्तरले हराउदैँ नेपालले उपाधि हात पारेको हो ।
नेपालविरुद्ध २५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४.५ ओभरमा मात्र ३१ रन बनाएर आउट हुन पुग्यो । मलेसियाका मोहमद अक्रमले १० रन बनाउँदा अन्य ब्याटरले दोहोर स्कोरमा रन नै बनाउन सकेनन् । नेपालका अभिषेक तिवारीले ५ र सन्तोष यादवले ३ विकेट लिए ।
६ ओभर बलिङ् गरेका तिवारीले १ मेडन राखेर जम्मा ७ रन मात्र दिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेटको क्षतिमा २५२ रन जोड्यो। नेपालका लागि शीर्षक्रमका ब्याटर नरेन भट्टले ८९ बलमा १० चौका र २ छक्कासहित १ सय १२ रनको सानदार अविजित शतकीय इनिङ खेले । ओपनर निरज यादव ४९ बलमा ६ चौकासहित ४७ रनमा आउट भए ।
ओपनर सूर्यान्सु कोइराला १८ रन, सन्तोष यादव २९, अशोक धामी ११ र दिपु कुमार ५ रनमा आउट भए । मलेसियाका मोहम्मद अक्रमले ७ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए । एसियाली क्रिकेट काउन्सिलले यसअघि एसीसी यू-१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजजा गरेको थियो र नेपालले २०१७ र २०१९ मा लगातार उपाधि जितेको थियो ।




प्रतिक्रिया