काठमाण्डु – प्रधानमन्त्री कप १ दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबारको खेलमा कोशी प्रदेशलाई ६४ रनले पराजित गर्दै बागमती प्रदेश विजयी भएको छ ।
बागमतीले दिएको २७४ रनको लक्ष्य पछ्याएको कोशी प्रदेश ४७ ओभर १ बलमा २०९ रनमा ‘अलआउट’ भएको छ ।
खेलमा सुजन थपलिया र कप्तान अंकित सुवेदीले अर्धसतक प्रहार गरे । थपलियाले ५९ र सुवेदीले ५३ रन बनाए । सोनु अन्सरीले २१ र आइस भट्टराईले अविजित ३२ रन बनाएका छन् ।
बलिङमा बागमतीका इशान पाण्डेले ५ विकेट लिएका छन् । ८ ओभर बलिङ गरेका इशानले ३९ रन खर्चेर ५ विकेट लिए । सूर्य तामाङले २, रिजन ढकाल र प्रतीक श्रेष्ठले १–१ विकेट लिएका छन् ।
टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमती ४८ ओभर ३ बलमा अलआउट हुँदै २७३ रन बनाएको थियो । बागमतीका लागि आशुतोष घिरैयाले शतक प्रहार गरेका थिए । उनले १११ बलमा ११८ रन बनाएका थिए ।
कप्तान रित गौतमले ४९, रबिन जोशीले ४३ र प्रतीक श्रेष्ठले १९ रन बनाएका थिए ।
बलिङतर्फ कोशी प्रदेशका अभ्यास तिमिल्सिनाले ३, कमल खत्री र हेमन्त राईले २/२ र फिर्दोश अन्सरीले १ विकेट लिएका थिए ।




प्रतिक्रिया