लुम्बिनीलाई १० विकेटले हराउँदै पोखरा विजयी, अमेरिकनको शतक र नेपालीको अर्धशतक

लुम्बिनीलाई १० विकेटले हराउँदै पोखरा विजयी, अमेरिकनको शतक र नेपालीको अर्धशतक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै पोखरा एभेन्जर्सले जितेको छ ।

प्रतियोगितामा पोखराले लगातार २ हार व्यहोरेपछि शुक्रबार जीत निकालेको छ । पहिलो र दोस्रो खेलमा क्रमशः चितवन राइनोज र जनकपुर बोल्ट्सविरुद्ध पराजय व्यहोरेको थियो ।

लुम्बिनीले दिएको १७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पोखराले १६.५ ओभरमा १ विकेट पनि नगुमाएर पूरा गरेको छ ।

दक्षिण अफ्रिकी मूलका अमेरिकन ब्याटर आन्द्रेस गौसले शतक र नेपाली युवा ब्याटर दिनेश खरेलले अर्धशतकीय पारी खेलेका छन् । गौसले ५५ बलमा १२ चौका र ५ छक्कासहित अविजित १०४ रनको पारी खेलेका छन् ।

दिनेशले ४६ बलमा ४ छक्का र ४ चौकाको मद्दतमा अविजित ६१ रनको योगदान दिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७० रन बनाएको छ ।

लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट पारी खेले । उनले ५९ बलमा १० चौका र ४ छक्कासहित ९५ रनको पारी खेलेका छन् । रोहितले पहिलो खेलमा पनि राम्रो ब्याटिङ गरेका छन् ।

विराटनगर किंग्स विरुद्धको खेलमा रोहितले २९ बलमा ४ चौका र २ छक्कासहित ४६ रन बनाए । शुक्रबार पोखराविरुद्ध टम मोरिसले ४५ र सन्दीप जोराले १८ रन जोडेका छन् ।

पोखराका लागि विपिन खत्रीले २ र म्याट क्रिचलेले १ विकेट लिए । जारी सिजनमा लुम्बिनीको लगातार दोस्रो हार हो । लुम्बिनी पहिलो खेलमा विराटनगर किंग्ससँग २ विकेटले पराजित भएको थियो ।