१ दिवसीय सिरिज खेलेर नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

१ दिवसीय सिरिज खेलेर नेपाली क्रिकेट टोली स्वदेश फिर्ता


काठमाण्डु – नेपाली राष्ट्रिय क्रिकेट टोली स्कटल्यान्डबाट स्वदेश फर्किएका छन् ।

नेपाल आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेदरल्यान्ड्स र स्कटल्यान्डसँग १ दिवसीय सिरिज खेलेर आईतबार टोली स्वदेश फर्किएका हुन् ।

सोही क्रममा राष्ट्रिय टोलीका क्याप्टेन रोहित पौडेलले सिरिज एकदमै राम्रो भएको भन्दै आउने दिनहरुमा अझ बढी आत्मविश्वासका साथ खेल्ने बताए । जानुभन्दा अगाडि जति लक्ष्य राखेका थियो, त्यो पूरा लगभग सबै पूरा भएको पनि उनको भनाइ छ ।

उनले भने, ‘सिरिज एकदमै राम्रो भयो । जानुभन्दा अगाडि जुन लक्ष्य राखेका थियौं, त्यो पूरा भयो जस्तो लाग्यो, । जुन हिसाबले खेलेका थियौं, त्यसमा म खुसी छु । आउने दिनहरूमा अझ बढी आत्मविश्वासका साथ खेल्नेछौं ।’

स्कटल्याण्ड जानुअघि नेपाली टोलीले संयुक्त अधिराज्य (यूके) मा अन्तिम तयारी गरेको थियो । नेपाली टोलीले तयारीका क्रममा यूकेमा खेलिएको ५ वटै अभ्यास खेलमा विजयी हासिल गरेको थियो ।

स्कटल्याण्डमा लिग २ का खेल अघि स्कटल्याण्ड ए सँग २ अभ्यास खेल खेलेको थियो । पहिलो अभ्यास खेलमा पराजित नेपालको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो ।

त्यसपछि भएको नेदरल्याण्ड्स र घरेलु टोली रहेको लिग २ का ४ मध्ये ३ खेलमा नेपाल विजयी भएको थियो । लिग टु अन्तर्गतको सिरिज पश्चात भएको टी–२० आई सिरिजमा नेपाल दोस्रो भयो । ३ देश सम्मिलित त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजमा २ जीतका साथ नेपाल दोस्रो भयो ।

यसपछि टी–ट्वान्टी विश्वकपको तयारीका लागि नेपालको भारत, अस्ट्रेलिया र श्रीलंका भ्रमण रहेको छ ।