काठमाण्डु – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी ‘टप एन्ड टी–२०’ सिरिजमा बंगलादेश ‘ए’ टोलीसँग नेपाल पराजित भएको छ ।
शनिबारको हारसँगै नेपालको लगातार दोस्रो हार भएको छ । यसअघि शुक्रबारको पहिलो खेलमा एनटी स्ट्राइकसँग नेपाल ४२ रनले पराजित भएको थियो ।
शनिबार अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदान–२ मा भएको खेलमा बंगलादेशसँग नेपाल २९ रनले पराजित भएको छ । बंगलादेशले जीतका लागि दिएको १८४ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५४ रनमा समेटिएको थियो ।
नेपालका लागि कुशल मल्लले सर्वाधिक ५९ रनको योगदान दिँदा ४७ बलमा ६ चौका र १ छक्काको सहयोगमा अविजित रहे । आसिफ शेखले २४ बलमा २८ रन बनाउँदा लोकेश बमले १० बलमा ३ चौका प्रहार गर्दै १५ रन बनाए भने कप्तान रोहित पौडेलले १० रन जोडेका थिए ।
बलिङतर्फ राकिबुल हसनले ३ विकेट लिए भने सेफ हसन, रिपोन मण्डल र मृत्युन्जय चौधरीले समान १/१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८३ रनको योगफल बनाएको थियो ।
बंगलादेशका लागि ओपनर जिशाद आलमले सर्वाधिक ७१ रन बनाए भने अफिफ होसेनले अविजित ४८ रन बनाए । नेपालका लागि रिजन ढकालले २ विकेट लिए भने नन्दन यादव, करण केसी र सन्दीप लामिछानेले समान १/१ विकेट लिएका थिए ।




प्रतिक्रिया