काठमाण्डु – आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ मा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) लाई १४१ रनको लक्ष्य दिएको छ ।
आईतबार ओमानको अल अमेरतमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४० रनको योगफल खडा गरेको हो ।
नेपालका ओपनर आसिफले ५१ रनको अर्धशतकीय इनिङ खेले । आसिफले ४७ बलमा ४ चौका र १ छक्का प्रहार गरे । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको यो नवौं अर्धशतक हो ।
अर्का ओपनर कुशल भुर्तेलले २६ बलमा २ चौका र २ छक्कासहित २८ रन थपे । यी दुईले पहिलो विकेटका निम्ति ५६ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए ।
आसिफ र भुर्तेलबाहेक, कप्तान रोहितकुमार पौडेलले २० र गुल्सन झाले पाँच बलमा १४ रन जोडे ।
प्रतियोगितामा नेपाल समूह ‘बी’का दुवै खेल जित्दै सुपर–६ मा आएको हो । नेपालले समूह चरणको पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको थियो । नेपालले दोस्रो खेलमा जापानविरुद्ध ५ विकेटको जीत निकालेको थियो । यसैकारण आईतबार नेपाल लगातार तेस्रो जीतको खोजीमा छ ।




प्रतिक्रिया