काठमाण्डु – माघ ४ गतेदेखि घरेलु मैदानमा हुने आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको खेल तालिका सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले सार्वजनिक गरेको तालिका अनुसार समूह चरणमा नेपालका चार वटै खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुने भएको छ । यसअघि समूह चरणमा नेपालका दुई वटा खेल माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुने तालिका थियो ।
तालिकाअनुसार नेपालले पहिलो खेलमा माघ ४ गते थाइल्यान्डसँग, दोस्रो खेलमा माघ ८ गते नेदरल्यान्ड्ससँग, तेस्रो खेलमा माघ १० गते जिम्बावेसँग र चौथो खेलमा माघ १२ गते स्कटल्यान्डसँग खेल्नेछ ।
१० वटा टोली सहभागी प्रतियोगिता माघ १८ गतेसम्म चल्नेछ । प्रतियोगितामा दुवै समूहबाट शीर्ष तीनमा पर्ने टोलीहरू ‘सुपर–सिक्स’ मा पुग्नेछन् । ‘सुपर–सिक्स’ बाट शीर्ष चार वटा टोली आउँदो वर्ष इङ्ग्ल्यान्ड र वेल्समा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन् ।





प्रतिक्रिया