काठमाण्डु – आईसीसी टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानले विजयी सुरुवात गरेको छ ।
शनिबार श्रीलंकाको कोलोम्बोस्थित सिन्हालेस स्पोर्ट्स क्लब मैदानमा भएको उद्घाटन खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ३ विकेटले पराजित गर्दै पहिलो जीत दर्ता गरेको छ ।
नेदरल्यान्ड्सले दिएको १४८ रनको लक्ष्य पाकिस्तानले खेल सकिन ३ बल बाँकी छँदै ७ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जीतमा ओपनर साहिवजादा फरहानले सर्वाधिक ४७ रनको महत्त्वपूर्ण इनिङ खेले । फहिम असरफ २९ रनमा अविजित रहे भने सैम अयुबले २४ रन जोडे । अन्य ब्याटरहरूमा बाबर आजमले १५ र कप्तान सलमान आगाले १२ रन जोडे । नेदरल्यान्ड्सका बलरहरू आर्यन दुत र पाउल भान मिकेरेनले समान २–२ विकेट लिए पनि टोलीको हार टार्न सकेनन् ।
यसअघि टस जितेर पाकिस्तानले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १ बल बाँकी छँदै सबै विकेट गुमाएर १४७ रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३७ रन जोडे भने बास डे लिडेले ३०, माइकल लेभिटले २४ र कोलिनले २० रनको योगदान दिए । पाकिस्तानका बलर सलमान मिर्जाले ३ विकेट लिएर घातक बलिङ गरे । मोहम्मद नवाज, अबरार अहमद र सैम अयुबले समान २–२ विकेट हात पारे ।
आगामी खेलहरूको तालिका विश्वकपअन्तर्गत शनिबार नै अन्य दुई खेलहरू हुँदैछन्, जसमा वेस्ट इन्डिज र स्कटल्यान्ड तथा भारत र अमेरिकाबिच प्रतिस्पर्धा हुनेछ ।




प्रतिक्रिया