काठमाण्डु – आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।
बिहीबारको खेलमा इटालीसँग नेपाल १० विकेटले पराजित भएको हो ।
नेपालले दिएको १२४ रनको सामान्य लक्ष्य इटालीले १२.४ ओभरमा कुनै विकेट नगुमाई पूरा गरेको छ । इटालीको सहज जीतमा जस्टिन मोस्का र एन्थोनी मोस्काले सानदार साझेदारी गरे । जस्टिन ६० तथा एन्थोनी ६२ रनमा अविजित रहे । ४४ बल खेलेका जस्टिनले ५ चौका तथा ३ छक्का प्रहार गरे । एन्थोनीले ३ चौका र ६ छक्का हिर्काए । नेपालका कुनै पनि बलर चल्न सकेनन् र विकेटविहीन बने ।
त्यसअघि मुम्बईस्थित वानखेडे मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको नेपाल १९.३ ओभरमा १२३ रनमै अलआउट भयो । आरिफ शेखले २७, रोहित पौडेलले २३, आसिफ शेखले २० दीपेन्द्र सिंह ऐरीले १७, करण केसी १८ रनमा अविजित रहँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । कुशल भुर्तेलले ५, लोकेश बम र गुलशन झाले ३–३ रन बनाउँदा नन्दन यादवले खाता पनि खोल्न सकेनन् ।
बलिङतर्फ इटालीका क्रिसन कलुगामागेले ३ तथा बेन मनेन्टीले २ विकेट लिए भने अलि हसन, जेजे स्मट्स र जसप्रीत सिंहले १–१ विकेट लिए । यसअघिको खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो । बिहीबारको खेल हारेसँगै नेपाल अंकविहीन बन्न पुगेको छ ।




प्रतिक्रिया