गण्डकी प्रदेश विद्यालय क्रिकेटको उपाधि भीमसेन आदर्शलाई

गण्डकी प्रदेश विद्यालय क्रिकेटको उपाधि भीमसेन आदर्शलाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की – नेपाली क्रिकेटमा नयाँ पुस्ताका प्रतिभा खोज्ने लक्ष्यसहित पोखरामा सञ्चालन भएको गण्डकी प्रदेश राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिपको उपाधि नवलपुरको भीमसेन आदर्श माध्यमिक विद्यालयले जितेको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा स्याङ्जाको भगवती माध्यमिक विद्यालयलाई ६८ रनले पराजित गर्दै भीमसेन च्याम्पियन बन्न सफल भयो ।

खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको भीमसेनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६४ रन बनाएको थियो । टोलीका लागि पंकज यादवले उत्कृष्ट प्रदर्शन गर्दै ४८ बलमा ५ चौका र ४ छक्काको मद्दतले ६७ रन बनाए । उनले ‘प्लेयर अफ द म्याच’को उपाधि समेत जिते । शैलेश काफ्ले अविजित ३० रन तथा सुशील भुसालले २० रनको योगदान दिए ।

भगवती माध्यमिक विद्यालयका लागि स्वपनिल भट्टराईले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए भने आयुष पाण्डेले १ विकेट हात पारे । जीतका लागि १६५ रनको लक्ष्य पछ्याएको भगवती १९ ओभरमा सबै विकेट गुमाएर मात्र ९६ रन बनाउन सक्यो । भुवन डुम्रेले सर्वाधिक ४९ रन बनाए ।

भीमसेन आदर्शका बलरहरू खेलमा प्रभावशाली देखिए र जीतका लागि महत्वपूर्ण योगदान दिए । आयान भुर्तेलले ४ विकेट लिए भने सुशील भुसाल र शैलेश काफ्ले समान २/२ विकेट लिए । रिदम रिजालले १ विकेट हात पारे । च्याम्पियन नवलपुरको भीमसेन आदर्श माध्यमिक विद्यालय राष्ट्रिय प्रतियोगिताका लागि छनोट समेत भएको छ ।

विजयी टीम तथा खेलाडीहरूलाई आयोजक प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल लगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरे । जेठ २२ गतेबाट सुरु भएको प्रतियोगिताले विद्यालय तहबाटै क्रिकेटको जग बलियो बनाउने, ग्रामीण तथा जिल्लास्तरमा लुकेका प्रतिभालाई राष्ट्रिय मञ्चसम्म पुर्‍याउने र भविष्यका राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग पुगेको आयोजक संस्थाका अध्यक्ष सिग्देलले बताए ।

प्रतियोगितामा गण्डकी प्रदेशका कास्की, नवलपुर, स्याङ्जा र पर्वत जिल्लाका उत्कृष्ट विद्यालय टोलीको सहभागिता थियो । जिल्लास्तरीय छनोट प्रतियोगिताको विजेता विद्यालयहरु प्रदेशस्तरीय प्रतियोगितामा सहभागी भएका थिए ।

प्रतियोगितामा कास्कीबाट डायमण्ड सेकेन्डरी स्कूल, नवलपुरबाट भीमसेन आदर्श माध्यमिक विद्यालय, स्याङ्जाबाट भगवती माध्यमिक विद्यालय तथा पर्वतबाट मङ्गलोदय माध्यमिक विद्यालयले प्रतिस्पर्धा गरेका थिए ।