सुर्खेत- दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा कर्णाली प्रदेशले पहिलो जित निकालेको छ।
बिहीबार कालुञ्चोक मैदानमा भएको उद्घाटन खेलमा कर्णालीले छिमेकी प्रदेश सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै घरेलु मैदानमा सुखद सुरुवात गरेको हो।
अन्य खेल विधामा अपेक्षाकृत कमजोर प्रदर्शन गरिरहेको कर्णालीले पुरुष क्रिकेटमा भने जित निकाल्दै घरेलु दर्शकलाई पहिलो खुसी दिएको छ।
सुदूरपश्चिमले दिएको १२८ रनको लक्ष्य कर्णालीले १३ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो।
कर्णालीको जितमा विपिन रावलले आक्रामक ब्याटिङ गर्दै ३५ बलमा ६० रन बनाए। उनको उत्कृष्ट प्रदर्शनले कर्णालीलाई सहज जित दिलायो।
ओपनर दिनेश रावत पहिलो बलमै आउट भएपछि दबाबमा परेको कर्णालीका लागि दिनेश अधिकारीले १५ रन बनाए। मनिष थापा र कप्तान रविन्द्रजंग शाहीले समान १३ रनको योगदान गरे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२७ रन बनाएको थियो। उसका लागि अभिषेक पालले सर्वाधिक २८ र दीपक बोहराले १८ रन बनाए।
सुदूरपश्चिमलाई सुरुदेखि नै दबाबमा राखेको कर्णालीका दिवान पुन, राजकुमार साह र दिनेश अधिकारीले समान दुई-दुई विकेट लिए।
यस जितसँगै कर्णालीले दशौँ राष्ट्रिय खेलकुदको पुरुष क्रिकेटमा उत्साहजनक सुरुवात गरेको छ।



प्रतिक्रिया