साढे एक लाख पुरस्कार राशीको लिटल फ्लावर क्रिकेट कात्तिकमा, देशभरिका १२ टोलीको सहभागिता


काठमाडौं– ‘क्रिकेटको शहर’ धनगढीमा आगामी कात्तिकमा निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ।

कात्तिक २७ देखि मंसिर ४ गतेसम्म हुने प्रतियोगितामा देशभरीबाट विभिन्न १२ वटा विद्यालयले प्रतिस्पर्धा गर्ने शनिबार काठमाडौंमा पत्रकार सम्मेलनमा जानकारी दिइयो।

संस्कार क्रिकेट एकेडेमीको आयोजनामा धनगढीको संघीय इकाई प्रहरी कार्यालयको मैदानमा हुने यो प्रतियोगिता विद्यालय स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हो ।

लिगकम नकआउट प्रतियोगितामा मुख्य सहयोगकर्ता लिटल फ्लावर बोर्डिङ हाई स्कुलसँगै धनगढीकै सिद्धार्थ शिशु सदन स्कुल, शारदा मावि, क्यास्पियन एकेडेमी, कैलाली मोडेल स्कुल, सरस्वती मावि गेटा, एवीसी बोर्डिङ स्कूल नेपालगञ्ज, विज्डम एकेडेमी, कञ्चनपुर, लिटलबुद्ध एकेडेमी, कञ्चनपुर तथा काठमाडौंका हिमालय ह्वाइट हाउस वल्र्ड स्कुल र मोक्षदा स्कुल तथा भक्तपुरको निष्ट स्कुलले सहभागिता जनाउने भएका छन्।

प्रतियोगिताको विजेताको रकम दोस्रो संस्करणको भन्दा दोब्बर बढाउँदै विद्यालय स्तरमा देशकै सर्बाधिक पुरस्कार राशीको प्रतियोगिता बनाइएको संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले बताए । यस संस्करणको विजेताले १ लाख ११ हजार १ सय ११ तथा उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने भएका छन् ।

गतसंस्करणको विजेताले ५० हजार तथा उपविजेताले २५ हजार पाएका थिए। यस्तै विधागत तर्फ यस संस्करणको उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले समान ५–५ हजार पाउने भएका छन्।

यस्तै लिगचरणको म्यान अफ द म्याचले १ हजार, नकआउट चरणमा १५ सय तथा फाइनलमा दुई हजार पुरस्कार दिइने
छ।

प्रतियोगिताका मुख्य प्रायोजक निष्ट कलेज लैनचौर काठमाडौंका अध्यक्ष डा माधवप्रसाद बरालले दोस्रो संस्करणदेखि आफूहरु प्रतियोगितासँग जोडिएकाले आगामी संस्करणमा पनि प्रायोजन सहयोगलाई निरन्तरता दिने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement