भारतीय सर्वोत्कृष्ट खेलाडी युवराज सिंहले लिए क्रिकेटबाट सन्यास


एजेन्सी – सन् २०११ का सर्वोत्कृष्ट खेलाडी भारतीय अलराउण्डर युवराज सिंहले क्रिकेटबाट सन्यास लिएका छन् । आफ्नो क्रिकेट करियरमा भारतका लागि ४० टेस्ट, ३०४ एकदिवसीय र ५८ टी–२० खेल खेलेका युवराजले क्रिकेट खेलाडीको करियरबाट बिदा लिने निर्णय गरेका हुन् ।

उनी यो समयकै सबैभन्दा उत्कृष्ट भारतीय अलराउण्डर हुन् । विस्फोटक ब्याटिङ, स्पिन बलिङ र उत्कृष्ट फिल्डिङका कारण उनी उत्कृष्ट अलराउण्डरको परिचय बनाउन सफल भएका थिए ।

सन् २०११ मा भारतले विश्वकपको ट्रफी उचाल्दा उनले प्रतियोगितामा चार वटा अर्धशतक र एउटा शतक बनाएका थिए । साथै उनले १५ विकेट समेत लिएका थिए । उनले आयरल्याण्डविरुद्धको एउटै खेलमा पाँच विकेट लिएका थिए । जसका कारण उनी प्रतियोगिताकै’ सर्वोत्कृष्ट खेलाडी’ समेत घोषित भएका थिए ।

उनले एकदिवसीय खेलमा ३६ दशमलव ५५ को औसतमा कुल ८ हजार ७ सय १ रन बनाएका छन् । टेस्ट क्रिकेटमा ११ वटा अर्धशतक बनाएका युवराज सिंहले टी–२० मा १ हजार १ सय ७७ रन बनाएका छन् ।

सन् २००७ को विश्वकपमा स्टुअर्ट ब्रोडको बलमा एउटै ओभरमा उनले ६ छक्का प्रहार गरेका थिए । जुन उनको करियरको सबैभन्दा चर्चित प्रदर्शन हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement