साइकलमा च्याउ डुलाउने बाबुराम कार चढ्छन्

साइकलमा च्याउ डुलाउने बाबुराम कार चढ्छन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नारायण ढुंगाना/रासस 
रत्ननगर – चितवनको कालिका नगरपालिका वडा नं ३ पदमपुरका बाबुराम केसीले एउटा झुप्रोबाट च्याउ खेती शुरु गरेका थिए । विसं २०५६ मा च्याउ खेती शुरु गरेका केसी अहिले छ कट्ठामा च्याउ लगाउछन् । साइकलमा च्याउ डुलाउने केसि अहिले कारमा हिड्छन् । च्याउ बेचेरै जग्गा समेत जोडे ।

कन्ने र गोब्रे च्याउ लगाउँदै आएका उनले दैनिक औसत १०० किलो च्याउ उत्पादन गर्छन् । ‘यहीँ हो विदेश, यहीँ छ कमाइ,’ केसीले भने ‘मेहनत गरे जुन पेशाबाट पनि कमाइ हुन्छ ।’ कहिलेकाहीँ दिनमा ४०० केजीसम्म उत्पादन हुन्छ ।

विसं २०५६ मा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले जंगलमा मानवीय चाप घटाउन गाउँका स्थानीयवासीलाई आयआर्जनका लागि च्याउखेती तालीम दिएको थियो । वन्यजन्तु संरक्षण गर्नु यसको मुख्य उद्देश्य थियो । शुरुमा केसीसहित १० जनाले तालीम लिएका थिए । त्यो बेला ग्रामीण कृषक समूह गठन गरेर च्याउ खेती शुरु भएको केसी सम्झछन् । उक्त समूहमा अहिले मासिक ३०० बचत गर्छन् उनले ।

सामान्य खेती किसानी गरेर जीविका चलाउन उनलाई पहिले निक्कै समस्या थियो । त्यो बेलाको खेती पनि वन्यजन्तुले खाइदिन्थ्यो । अहिले आफ्नो जीवन फेरिएको छ भन्छन् केसी । च्याउबाट खर्च कटाएर मासिक १ लाख न्यूनतम कमाई हुने उनको भनाइ छ । उनले प्रतिकिलो १२० मा थोकमा च्याउ बेच्छन् । बजारमा खुद्रा मूल्य प्रतिकिलो २०० देखि २५० सम्म पर्छ । विगतमा भारतमा मजदुरी गरेको अनुभव केसीसँग छ । त्यसपछि नेपाल आएर जग्गा नापीमा समेत काम गरे उनले ।

‘जब च्याउ खेती शुरु भयो दुःखका दिन गए,’ केसीले भने अहिलेको पेशाबाट निक्कै आनन्दित छु ।’ उनले खेती शुरु गरेदेखि पछि फर्कनु परेको छैन । झुप्रोबाट खेती शुरु गरेका उनको अहिले च्याउका ६ वटा ठूला घर छन् । विस्तार गर्दै उनले अहिले ६ कट्ठामा च्याउ खेती गरिरहेका छन् ।

उनलाई पत्नी सीता केसीले सघाउछिन् । ‘उनले बजार हेछिन्, यहाँको व्यवस्थापन म स्वयं गर्छु,’ सीताले भनिन् । च्याउको मौसमका बेला १२/१५ जनासम्म कामदार राख्ने गरिन्छ । अहिले व्यावसायिक च्याउ खेतीका सफल किसानको रुपमा केसी परिवार छन् । च्याउ बेचेर गाडी, मोटरसाइकल सहित ५० लाखमा ३ कट्ठा जग्गा समेत जोडिसकेका छन् ।

विसं २०५६ मा जब राष्ट्रिय प्रकृति संरक्षण कोषबाट तालीम लिएपछि उनले तीन प्याकेट च्याउको बीऊ र १० हजार बराबरको सामग्री पाएका थिए । झुप्रोमा च्याउ खेती गर्दा पहिलो पटक ३५ किलोग्राम उत्पादन भयो । ‘त्यो बेलाको खुशीको सीमा नै भएन,’ केसीले भने । विस्तारै उनले खेती बढाउन थाले । शुरुमा उनीसँग एउटा साइकल मात्र थियो । त्यही साइकलमा उनी उत्पादित च्याउ बोकेर गाउँ शहर डुलाउथे ।

बुटबल र हेटौँडासम्म साइकलमा च्याउ लगेर बेचेको अनुभव उनीसँग छ । नारायणगढसम्म साइकलमा जाने, साइकलसहित च्याउ गाडीमा राख्ने, बुटबल पुगेपछि झार्ने अनि साइकलमा डुलाउने । केही वर्ष यसरी बिताए उनले । साइकलको सहारामा च्याउ बेचेर कमाएको पैसाले उनले खेती विस्तार गरेका थिए ।

‘मैले साइकलमा १० वर्ष च्याउ बेचें,’ केसी भन्छन्, त्यो साइकल अझै माया लागेर झुण्ड्याएर राखेको छु ।’ च्याउ घरभित्रै सिलिंगमा साइकल खिया लागेको अबस्थामा अझै झुण्डिएको छ । कमाइ बढेपछि उनले साइकल छाडेर मोटरसाइकल किने । त्यसमै राखेर च्याउ बेचे ।

अहिले उनी कारमा च्याउ लैजाछन् । पहिले साइकलमा गाउँगाउँ डुलाउने उनलाई अब त्यसरी दुःख गर्नुपर्दैन । घरमै लिन आउँछन् । नभए थोक पसलमा लगेर छाड्छन् । सरकारी सहयोग भने अहिलेसम्म एक रुपैयाँ पनि नपाएको गुनासो केसीको छ ।

अहिले केसी च्याउको बीऊसमेत उत्पादन गर्छन् । उनलाई १२÷ १४ हजार प्याकेट बीऊ लाग्छ । अरु बाँकी उत्पादित बीऊ बेच्छन् । विभिन्न स्थानबाट बीऊ लिन उनीकहाँ आउने गरेको शुरुको सहयोगी संस्था राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका संरक्षण अधिकृत सन्तोष भट्टराई बताँउछन् । लागत अनुसारको मूल्य नपाउँदा भने उनी अलि दुःखी छन् ।

शुरुमा च्याउ खेती गर्दा जति मूल्य थियो, अहिले पनि त्यही मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता रहेको छ । तैपनि अहिले यो पेशामा उनी सन्तुष्ट छन् । च्याउखेती सिकेर उनले सीप समेत बाँड्य । अहिले एकसय जनालाई च्याउ खेत गर्ने सीप सिकाइसकेको केसी बताउछन् । जिल्लाकै च्याउ खेतीका नमूना किसानको रुपमा उनी परिचित छन् ।