काठमाण्डु- देशमा परिवर्तनका लागि बिभिन्न समयमा थरीथरीका आन्दोलन भए । ती आन्दोलन सफल भएर राजनीतिक परिवर्तन पनि भयो । वि.स. २०६५ जेठ २९ गते राजतन्त्रतको अन्त्य भएसँगै गणतन्त्र आयो ।
देशमा संविधान बन्यो, राज्य संरचनामा परिवर्तन भयो । देश संघ, प्रदेश र स्थानीय तह गरि तिन तहको राज्य संरचना निर्माण भयो र तिन तहको सरकार बन्यो । यी परिवर्तन सँगै जनताले अब विकासमा पनि त्यसैगरि परिवर्तन हुन्छ भन्ने अपेक्षा गरेका थिए । तर, त्यो अपेक्षा अहिलेसम्म पुरा हुन सकेको छैन। जनताले भोग्नु परेको पिडामा कुनै पनि राजनीतिक दलको नजर परेको देखिदैँन ।
देशमा संघीय व्यवस्था लागु भए पनि जनताले भने एकात्मक शासन ब्यवस्थाको झैँ समस्या झेल्नु परेको छ । अझैँ पनि पहाडी जिल्लाका जनताले संघीयता आएको महशुस समेत गर्न पाएका छैनन् । जसमध्ये सुदूरपश्चिम प्रदेश अन्तर्गत पर्ने डडेल्धुराका जनतालाई पनि संघीयता आएको महशुस समेत भएको छैन ।
डडेल्धुरामा ५ वटा गाँउपालिका, २ वटा नगरपालिका, एक संघ र दुई प्रदेश निर्वाचन क्षेत्र छन् । यस जिल्लाको कूल जनसंख्या मध्ये झण्डै आधा जनसंख्या जिल्लाको दक्षिणी भेगमा पर्ने आलिताल गाँउपालिका र परशुराम नगरपालिकाले ओगटेको छ । भित्री मधेसमा पर्ने आलिताल र परशुराममा अधिकांस मानिसहरु अन्य जिल्लाबाट बसाई सराई गरी आएका बासिन्दाहरु बसोबास गर्दछन् ।
डडेल्धुरा पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना बोकेको अत्यन्त मनोरम, भौगोलिक विविधतायुक्त, भित्रि मधेस, चुरे श्रृङखला, महाभारत पर्वत, घना हरियाली वनजंगल, घटाल थान, परशुराम मन्दिर, उग्रतारा मन्दिर, भागेश्वर मन्दिर, सहश्रलिङ्ग आदि महत्वपुर्ण धार्मिक स्थलहरू रहेका छन् । त्यस्तै अमरगढी नगरपालिका स्थित अमरगढी किल्ला यस जिल्लाको प्रमूख ऐतिहासिक स्थलको रुपमा प्रसिद्ध छ ।
आलिताल लगायत अन्य ताल तलैयाहरु, भागेश्वर गांउपालिका अन्तर्गत साहिलको झरना, आलिताल गांउपालिकाकै कुमोडगाड झरना यस जिल्लाभित्र पर्छ । त्यस्तै मुख्य नदिमा महाकाली र सहायक खोलाहरुमा रंगुन, रडुवा, पन्तुरा, रुपाली गाड, घटाल, सुर्नायाँ रहेका छन्। डडेल्धुराको नाम आउने बितिक्कै मनमा लाग्छ होला, डडेल्धुराका जनता कति भाग्यमानी जसले डडेल्धुराबाट चुनाव जितेर देशको नेतृत्व ५ पटक गर्ने अवसर पायो ।
जुन जिल्लाले देशकै प्रमुख पार्टी नेपाली कांग्रेसको सभापति पायो । त्यसकारण यस जिल्लामा अन्य जिल्लाको तुलनामा विकासले पक्कै पनि धेरै फड्को मारेको होला ? तर, विडम्वना यो बाहिरि रुपमा मानिसको मनमा लागेको जिज्ञासा अर्थात भ्रम मात्रै हो । भौगोलिक सुन्दरता र राजनीतिक हिसाबले बलियो पकड भएको डडेल्धुरा विकासमा भने निकै पछाडि परेको छ ।
यहाका जनता हालसम्म पनि आफ्नो आधारभुत आवश्यकताबाट बञ्चित छन् । अरु विकास त परै जाओस् । यहाँका जनताले खानेपानी, यातायतको सुविधा समेत पाएका छैनन् । त्यस्तै अस्पताल, सञ्चार, सिक्षालगायत सबै भौतिक कुराको अभाव छ । जसअनुसार प्राय जसो ठाउँमा बिहान १० बजेदेखि २ बजेसम्म मात्र नेटवर्क आउछ । आपतकालिन समयमा फोन गर्नको लागि नेटवर्क खोज्न अग्ला डाँडमा चढ्नु पर्ने समस्या छ । बाटोको अभावमा सुत्केरी व्यथा लागेकी महिला स्टेचरमा अस्पताल लैजादै गर्दा बाटोमा बच्चा जन्माउन र समयमा अस्पताल नपुगेर आमा र बच्चा अकालमा ज्यान गुमाउन बाध्य छन् ।
जिल्ला सदरमुकाम जोड्ने सडक अन्तर्गत अहिलेसम्म कुनै स्थानिय तहभत्रि पर्ने सडकमा कालोपत्रे भएको छैन। अधिकांस सडक कालोपत्रेका लागि ठेक्का सम्झैता लिएका कम्पनीहरुले काम अलपत्र पारेका छन् । ठेक्का लिएर काम अलपत्र पारेपछि बुडर जोगबुडा, दैजी जोगबुडालगायतका थुप्रै सडकमा ट्याक्टर चलाउन पनि कठिनाइ छ ।
यस जिल्लाका अधिकांस सडक हिउँदको समयमा मात्रै सञ्चालनमा आउछन् । वर्षातको समयमा सडकमा यातायातका साधन ठप्प हुन्छन् ।डडेल्धुरामा बजेटको अभावले विकासको गति अगाडि बढ्न नसकेको भने होइन । डडेल्धुरामा बर्सेनी बजेट आउछ । तर, समस्या त्यो बजेट कार्यान्वयनको हो। डडेल्धुरामा टेन्डर भएका बाटो पुलहरु मध्ये ८०५ योजनामा राजेन्द्र निर्माण सेवा प्रालि को ठेक्का छ । जुन नेपाली कांग्रेसका जिल्ला सभापति भिमबहादुर साउँदको कम्पनि हो।
उक्त कम्पनीले राजीतिक पहुँचको भरमा ठेक्का लिएर काम अलपत्र पार्ने गर्दछ । पटक पटक ताकेता गर्दासमेत भिमबहादुरको उक्त कम्पनीलाई कालोसुचिमा राखिएको छैन । डडेल्धुराको प्रतिनिधित्व गर्दै २०४८ सालबाट लगातार चुनाव जितेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री बने । देउवा अब छैटौँ पटक प्रधानमन्त्री बन्ने दाउमा छन् । तर, उनी चुनावको बेला मात्रै भोट माग्न डडेल्धुरा पुग्छन् । चुनाव जितिसके पछि देउवा डडेल्धुरालाई फर्केर पनि हेर्दैनन् ।
चुनावको बेलामा मात्रै डडेल्धुरालाई भोट बैँककाे रुपमा प्रयोग गर्ने र चुनाव जितेपछि अर्को चुनाव नआउन्जेलसम्म डडेल्धुरा नफर्कने देउवालाई हामीले कहिलेसम्म बिना बिकासको जनप्रतिनिधि बनाउने ? हुन त आज डडेल्धुरा विकासको गतिमा अगाडि नबढ्नुमा हामीहरुको पनि ठुलो हात छ । यदि हामीले आफुले दिएको मतको मुल्याङकन गरेको भए आज यस्तो अवस्था आउने थिएन।
अब डडेल्धुराका मतदाताले आफ्नो मत परिवर्तनको लागि ढिलो गर्नु हुदैन । हामी विकासमा धेरै पछाडि परिसकेका छौँ । अब हामीले समय अनुसार परिवर्तन हुनु जरुरि छ। अबको चुनावमा हामीले यस्तो व्यक्तिलाई छान्नु छ । जसले जनताको पिडा बुझोस्, जो यस क्षेत्रको माटोसंग परिचित भएको ब्यक्तिलाई चुन्नु छ ।
जसले यस क्षेत्रको समस्यालाई नजिक बाट बुझेको छ । चुनाव आउदा हेलिकप्टर चढेर चुनावी सभालाई सम्वोधन गर्न मात्र जिल्ला भ्रमणमा आउने देउवाले कसरी देखुन कालोपत्रे नभएको बाटो ? कसरी देखुन मलास वासिको बाटो र पानिको अभावले शिर्ष वासिका पिडा कसरि देख्छन ? यी त उदाहरण मात्रै हुन् । यहाँ पिडा र अभाव अनगिन्ति मात्रामा छन् ।
ती पिडा र घाउमा मलम लगाउन हाम्रो लागि पुरानो मलमले काम गरेन । त्यसैले अब हामीले मलम परिवर्तन गर्ने बेला आएको छ। अबको चुनाव केहि गर्ने हुटहटि भएको व्यक्तिलाई मात्रै हामीले छान्नु पर्दछ । फेरि पनि हामीले उनै देउवनलनई मात्रै काँध चडायौँ भने डडेल्धुराको अवस्था यस्तै रहनेछ । त्यसलै अब डडेल्धुरा बासिहरुलाई विकासको अनुभुति गरान हामीले अब आफ्नो मत परिवर्तन गर्नु पर्नेछन् । त्यसकारण अबको चार वर्षपछि आउने अवसर हामीले गुमाउनु हुँदैन ।
केशव अवस्थि
त्रि.वि. व्यस्थापन केन्द्रिय विभाग किर्तिपुर




प्रतिक्रिया