डडेल्धुरा – चासोका साथ हेरिएको प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा अन्ततः नेपाली कांग्रेस विभाजन भएको छ ।
नेपाली कांग्रेस डडेल्धुराको सातौं जिल्ला अधिवेशन तथा १४ औं महाधिवेशनदेखिको विवादका कारण स्थानीय तह निर्वाचनको मखमै डडेल्धुरा कांग्रेस विभाजित भएको हो ।
विभाजनसँगै यहि बैशाख ३० गते हुने निर्वाचनका लागि नेपाली कांग्रेस र नेपाली कांग्रेस (विपी) ले डडेल्धुरामा छुट्टा–छुट्टै उमेदवारी दर्ता गर्ने भएका छन् ।
नेपाली कांग्रेसको छैटौं जिल्ला अधिवेशनबाट निर्वाचित पार्टी सभापति तथा डेडेल्धुरा जिल्लाको प्रदेश खबाट निर्वाचित प्रदेश सभा सदस्य कर्ण मल्लपक्ष नेपाली कांग्रेस विपीबाट स्थानीय तहमा उमेदवारी दिने तयारीमा जुटेको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सभापति देउवाले अन्तिमसम्म पनि गृह जिल्लाको पार्टी मिलाउनमा चासो नदिएपछि आफूहरु नेपाली कांग्रेस (विपी) बाट स्थानीय तहको निर्वाचनमा जानु परेको विद्यार्थी नेता तेजराज भट्टले बताए ।
‘नेपाली कांग्रेसबाट उमेदवारी दिने तयारी गरेका थियौँ, केन्द्रिय सभापति देउवाले एकलौटी गर्ने योजना थाहा पाएपछि आफूहरु नेपाली कांग्रेस (विपीबाट चुनावी मैदानमा जाने तयारी गरेका हौं’ महिला नेतृ कमला बिष्टले बताइन् ।
संस्थापन पक्षबाट अलग भएको मल्ल समूहले नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ । आइतबार भएको दुई पक्षीय बैठकले जिल्लाका ७ ओटै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णयसँगै भागबन्डा गरेको छ ।
जसअनुसार जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिकामा कांग्रेस विपीबाट हरिप्रसाद भट्ट नगरप्रमुखमा र एमालेका यज्ञराज अवस्थी उपप्रमुखमा चुनाव लड्ने भएका छन् ।
परशुराम नगरपालिकामा भने प्रमुखमा एमालेका केशव बोहरा र उपप्रमुखमा कांग्रेस विपीका उम्मेदवारलाई दिने सहमति भएको छ । यस्तै आलिताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा एमालेलाई दिने निर्णय भएको छ ।
भागेश्वर गाउँपालिकाको अध्यक्ष भने नेकपा एमालेलाई र उपाध्यक्ष कांग्रेस विपीलाई दिइने भएको छ । अजयमेरु गाउँपालिको अध्यक्षमा एमालेका पदम पाल र विपी कांग्रेसबाट उपाध्यक्ष राजेन्द्र ऐर, नवदुर्गाको अध्यक्षमा विपी कांग्रेसबाट गोकुल शाही, उपाध्यक्षमा एमालेकी तारा खाती चुनाव लड्ने भएका छन् ।
उता गन्यापधुरामा कांग्रेस वीपीबाट सुरेन्द्र माली अध्यक्षमा र एमालेबाट इन्द्रबहादुर महरा उपाध्यक्षमा उम्मेदवार हुने सहमति भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । निर्णयमा नेकपा एमालेका जिल्ला अध्यक्ष प्रकाश साउद र नेपाली कांग्रेस विपीका जिल्ला जिल्ला सभापति तिलक हमालले हस्ताक्षर गरेका छन् ।
यसअघि मल्ल पक्षले निर्वाचनका लागि टिकट बाँडफाँट गर्दा अन्यायमा परेका नेताहरुलाई सम्बोधन नगरे छुट्टै पार्टीबाट चुनाव लड्ने चेतावनी दिदै आएका थिए । आफ्ना माग सुनुवाइ नभएपछि नेपाली कांग्रेस परित्याग गरि कांग्रेस विपिमा प्रवेश गरेको कांग्रेस विपीका जिल्ला संयोजक तिलक हमालले जानकारी दिए ।
देशभरी गठबन्धनमा रहेका दलहरुले डडेल्धुरा जिल्लामा मित्रवत प्रतिस्पर्धा गर्ने भनेर सहमति गरे पश्चात नेपाली कांग्रेस छाडेर कांग्रेस विपीबाट छुट्टै उमेदवार तय गरेपछि डडेल्धुरा कांग्रेस संकटमा परेको छ ।




प्रतिक्रिया