काठमाण्डु- राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले पूर्व सांसदहरुको अनुभव र क्षमता नयाँ पिढीका सांसदहरुलाई आवश्यक रहेको बताएका छन् ।
पूर्व सांसद मञ्च, नेपालको २४ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष दाहालले मञ्च संसदीय अनुभवको कारखाना भएकोले नयाँ पिढीका सांसदहरुलाई आवश्यक रहेको र संसदको प्रभावकारिता बढाउन महत्वपूर्ण भूमिका हुने बताएका हुन् ।
लामो संसदीय अनुभव र क्षमतावान् व्यक्तित्वहरु रहेको पूर्व सांसद मञ्चले दिने सुझाव संसद, सरकार र राष्ट्रकै लागि महत्वपूर्ण हुने कुरामा दुई मत हुनै सक्दैन,’अध्यक्ष दाहालले भने, ‘मञ्चले संघीय संसदलाई सल्लाह सुझाव र आवश्यक परामर्श दिदै आएको छ, यसले संसदको प्रभावकारितामा महत्वपूर्ण सहयोग पुगेको मैले महसुस गरेको छु।’
संविधान निर्माणको बेलामा पूर्व सांसद मञ्चले खेलेको भूमिकाबारे चर्चा गर्दै अबका दिनमा देशमा राजनीतिक जटिलता पैदा हुँदा सकारात्मक परिणामका लागि अनुभवी र खारिएका पुराना सांसदहरुको सक्रियता आवश्यक हुने उनको भनाइ छ ।
नेपाली जनताको त्याग, तपस्या र बलिदानका कारण देशले नयाँ संविधान पाएको चर्चा गर्दै अध्यक्ष दाहालले अहिलेको संविधानलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने उल्लेख गरे। दलीय आग्रहबाट माथि उठेर राष्ट्रसामु देखा परेका विषयमा साझा धारणा बनाउने पूर्व सांसद मञ्चको कार्यशैलीबारे प्रशंसा गर्दै उनले समयानुकूल संस्थाको विश्वसनीयतालाई बढाउँदै लैजानुपर्नेमा जोड दिएका छन् ।
नेपालको ६ दशक लामो संसदीय इतिहासमा राजनीतिक फेरबदल र उतारचढाव धेरै भएको उल्लेख गर्दै राष्ट्रिय सभा अध्यक्ष दाहालले संसदीय इतिहासमा पूर्व सांसद मञ्च संसदको परामर्शदातृ संस्थाकै रुपमा रहेको र अहिले पनि संघीय संसदका दुवै सदनले नियमावलीमै परामर्श सेवा दिने संस्थाका रुपमा उल्लेख गरेको बताएका छन् ।




प्रतिक्रिया