काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको टुंगो लागेको छ । प्रधानमन्त्री दाहाल यही जेठ १७ देखी २० सम्म भारत भ्रमणमा जाने तय भएको प्रधानमन्त्री कार्यालय निकट स्रोतले जनाएको छ ।
दाहालको भ्रमणको तयारीमा परराष्ट्रमन्त्रालय र प्रधानमन्त्री कार्यालय जुटिसकेको छ । त्यसका लागि प्रधानमन्त्रीको तर्फबाट मुख्यसचिव शंकरदास वैरागीले भारत भ्रमणका क्रममा गर्ने सम्झौता र समझदारीबारे अहिले सरोकारवाला निकायहरुसंग समन्वय गरिरहेका छन् ।
प्रधानमन्त्री दाहालले पांच महिनाअघि प्रधानमन्त्रीमा नियुक्त भएसंगै आफुले पहिलो भ्रमण भारतबाट सुरु गर्ने दावी गरेका थिए । तर, प्रधानमन्त्री नियुक्त भएको लामो समयसम्म पनि उनले दक्षिणबाट भ्रमणको लागि ग्रिन सिंग्नल पाएका थिएनन् ।
प्रधानमन्त्री दाहाल भारत भ्रमणलगत्तै चीन भ्रमणमा जाने तयारीमा छन् । वेइजिङस्थित नेपाली दूतावासले त्यसको तयारी सुरु गरिसकेको स्रोत बताउंछ ।
दाहालले जुन १ मा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रोपदी मुर्मुसंग भेटवार्ता गर्ने तय भएको छ । त्यसका साथै उनले दिल्ली पुगेकै दिन भारतिय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभल र परराष्ट्रमन्त्री एस.जयशंकरसंग समेत भेटवार्ता गर्ने तय भइसकेको छ ।
प्रधानमन्त्री दाहाल दिल्लीपछि भारतको मुम्बई भ्रमणमा समेत जाने कार्यक्रम भएको छ । भारत भ्रमणका क्रममा जलविद्युत, उर्जा व्यापार, अन्तरदेशीय प्रशारण लाइन, रेल्वे,क्रस बोर्डर डिजिटल भुक्तानी प्रणाली,हवाईमार्ग,सीमा सुरक्षा र वाणिज्य र पर्यटनका विषयमा सम्झौंता गर्ने सरकारको तयारी छ ।
परराष्ट्रमन्त्रालयले प्रधानमन्त्रीको भ्रमणको तयारीकै क्रममा पूर्व परराष्ट्रमन्त्री र परराष्ट्रसचिवहरुसंग समेत सुझाव लिइसकेको छ । प्रधानमन्त्री दाहालले शनिवार आफ्नो आसन्न भारत भ्रमण दुवै देशका लागि ऐतिहासिक बन्ने दावी गरेका छन् ।
कान्तिपुर मिडियाद्धारा काठमाण्डौंमा आयोजित हाफ म्याराथनको शुभारम्भ गर्दै दाहालले भारतसंग खुला सीमा,आर्थिक,राजनीति र जनस्तरको सम्बन्ध विशिष्ट रहेको भन्दै आफ्नो भ्रमण दुवै देशका लागि ऐतिहासिक बन्ने विश्वास व्यक्त गरेका हुन् ।




प्रतिक्रिया