दैलेखमा कोरोना संक्रमितलाई व्यवस्थापन गर्न समस्या

दैलेखमा कोरोना संक्रमितलाई व्यवस्थापन गर्न समस्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दैलेख – दैलेखमा कोरोना संक्रमितलाई व्यवस्थापन गर्न कठिन भएको छ। जिल्लामा आइतबार साँझसम्म संक्रमितको संख्या ३ सय ५७ पुगेको छ। एकाएक संक्रमितको संख्या बढ्न थालेपछि उनीहरूको उपचार र आइसोलेसन व्यवस्थापनमा समस्या भएको हो।

पछिल्लो तीन सातामा संक्रमितको संख्या ह्वात्तै बढेको छ। संक्रमितमध्ये नारायण नगरपालिकामा मात्रै एक सय ९४ जना छन्। महाबु गाउँपालिकामा एक सय आठ जना छन्। महाबु गाउँपालिकामा पाँचमहिने शिशुमा पनि संक्रमण देखिएको छ। गाउँपालिकाको वडा नम्बर १ र २ मा मात्रैै ७५ जना संक्रमित छन्। यस्तै, दुल्लुका ३९, आठबीसका एक, चामुण्डाविन्द्रासैनी नगरका १, गुराँसका दुई, डुंगेश्वरका तीन, भैरवीका २ र नौमूले गाउँपालिकाका सात जना छन्।

संक्रमित सबै भारतबाट फर्किएका हुन्। यो संख्या हालसम्म कर्णालीमा कोरोना पुष्टि भएकामध्ये ६० प्रतिशत हो। प्रदेशको संक्रमितको संख्या ६ सय ४१ छ। भारतमा रहेकाहरूलाई उद्धार गरेर ल्याई व्यवस्थित गर्न नसक्दा भयावह स्थिति सिर्जना भएको स्थानीय धर्मराज उपाध्यायको भनाइ छ। क्वारेन्टाइनमा कोचाकोच गरेर राख्दा र पीसीआर रिपोर्ट ढिला आउँदा संक्रमणले भयावह रुप लिन सक्ने उपाध्यायले बताए। विशेष गरी स्थानीय तहले क्वारेन्टाइन अभावमा कोचेर राखेका थिए।

जिल्ला प्रशासन कार्यालयले भारतबाट फर्किने दैलेखबासी ४२ हजार पुग्ने अमुमान गरेको छ। हालसम्म झण्डै ११ हजार आठ सय आईसकेका छन्। संक्रमित बढ्दै गएपछि अहिले थेग्नै मुस्किल भएको छ। संक्रमितको संख्या बढेसँगै उनीहरूको व्यवस्थापनमा कठिन भएको हो। विशेषगरी आइसोलेसनको अभाव छ। स्वास्थ्य सेवा कार्यालयका अनुसार ४० बेड क्षमताको आइसोलेसन छ। संक्रमितमध्ये ३४ जना दैलेख अस्पतालको आइसोलेसनमा छन्। अन्य संक्रमित स्थानीय तहमा छन्।

संक्रमितलाई राख्न स्थानीय तहले बनाएको क्वारेन्टाइनलाई आइसोलेसनको रुपमा प्रयोग गरिएको दैलेख अस्पतालका प्रमुख डा. निरञ्जन पन्तले जानकारी दिए। ‘संक्रमितलाई चिकित्सकको मोबाइल टोलीले स्वास्थ्य अवस्थाबारे बुझिरहनुभएको छ,’ डा. पन्तले भने, ‘स्वास्थ्य अवस्था सामान्य छ, कुनै पनि लक्षण देखिएको छैन, आयुर्वेदिक औषधि चलाइरहेका छाँै।’ स्वास्थ्य सामग्री अभाव नभए पनि पीसीआर रिपोर्ट ढिला आउँदा समस्या भएको डा. पन्तले बताए।यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।