काठमाण्डु – तिब्बती बौद्ध धर्मगुरु दलाई लामाले आफ्नो मृत्युपछि उत्तराधिकारी चयनको परम्परा जारी रहने बताएका छन् ।
लामाले बुधबार सार्वजनिक गरेको भिडियो सन्देशमार्फत् आफ्नो मृत्युपछि पनि धर्मगुरु चयन गर्ने परम्परा निरन्तर जारी रहने बताएका हुन् ।
यो पहिलो पटक हो जब तिब्बती बौद्ध धर्मका आध्यात्मिक नेताले यति स्पष्ट ढंगले उत्तराधिकारी चयनको परम्परा भविष्यमा पनि कायम रहने बताएका छन् ।
लामाले आफ्नो पुनर्जन्मको खोज र पहिचान गर्ने प्रक्रिया पूर्ण रूपमा गादेन फोडरङ फाउन्डेसनको मातहत रहने र यस मामिलामा अरू कसैलाई हस्तक्षेप गर्ने अधिकार नरहेको स्पष्ट पारेका छन् । यो फाउन्डेसनको स्थापना उनैले गरेका हुन्।
लामा अहिले भारतको धर्मशालामा निर्वासित जीवन बिताइरहेका छन् ।
दलाई लामाको निधनपछि उनको पुनर्जन्म भएको विश्वास गरिन्छ र त्यसरी पुनर्जन्म भएको बालकको खोज बौद्ध धर्मगुरुहरूद्वारा गरिन्छ ।
चीनले तिब्बतमा नियन्त्रण जमाउन आफ्नै उम्मेदवार थोपर्ने कोसिस गर्ला भन्ने चिन्ताका माझ उनको सो घोषणा आएको छ ।
दलाई लामाले उनका उत्तराधिकारीबारे कुनै संकेत दिने अपेक्षाका माझ सयौँ अनुयायीहरू निर्वासित जीवन बिताइरहेका आफ्ना आध्यात्मिक गुरुको ९०औँ जन्मोत्सव मनाउन उत्तर भारतमा भेला भइरहेका छन् ।
सन् १९५९ मा चिनियाँ शासनविरुद्ध तिब्बतमा भएको विद्रोह विफल भएपश्चात् दलाई लामा भागेर भारत पुगेका थिए ।
उत्तर भारतको पर्वतीय नगर धर्मशालामा उनले निर्वासित सरकारको गठन गरे । तिब्बतमा चीनको कडा नियन्त्रणको विरोध गर्नेहरूले उनलाई शक्तिको एक वैकल्पिक स्रोतका रूपमा हेर्छन् ।
आइतवारको लामाको ९०औँ जन्मदिनदेखि बुधवारसम्म धर्मशालामा १५औँ तिब्बती धार्मिक सम्मेलन भएको हो ।
जन्मोत्सवका कार्यक्रमहरूमा भाग लिन ७ हजार पाहुना धर्मशाला पुगेका छन् जसमा कैयन् भारतीय मन्त्रीहरू पनि छन् । जारी गरिएका फोटोहरूमा दलाई लामाले हलिवूड अभिनेता रिचर्ड गेरलाई आशीर्वाद दिइरहेको देखिन्छ । उनी दलाई लामाका पुराना अनुयायी हुन् ।
विगतमा दलाई लामाले आफ्नो उत्तराधिकारीबारे आफ्नो ९०औँ जन्मदिन ताका विस्तृत बताउने भनेका थिए ।
नोबेल शान्ति पुरस्कार विजेता तिब्बती आध्यात्मिक अगुवालाई विगतमा यस ६०० वर्ष पुरानो संस्था कायम राखिरहने वा नरहने भन्ने दुबिधा थियो । केही वर्ष अगाडि उनले आफ्ना उत्तराधिकारी महिला पनि हुन सक्ने वा कोही पनि नहुन सक्ने भनेका थिए ।
तिब्बती बौद्धमार्गीहरूले उनीहरूका वरिष्ठ गुरुहरूको पुनरअवतार हुने विश्वास गर्छन् । पूर्ववर्ती दलाई लामाको आत्मा रहेको भनेर बौद्ध अधिकारीहरूले ठम्याए भने तिनलाई नयाँ दलाई लामाको रूपमा चयन गरिने चलन छ ।
अहिलेका १४औँ दलाई लामाको जन्म सन् १९३५ को जुलाई ६ मा उत्तर पूर्वी तिब्बतको एक गरिब किसान परिवारमा भएको थियो । उनको नाम ल्हामो धोन्दुप थियो। उनी दुई वर्षको हुँदा दलाई लामा पहिचान गर्ने बौद्ध अधिकारीहरूको टोलीले उनलाई विगतका १३ दलाई लामाका पुनरअवतार भएको ठम्याएका थिए ।
सन् १९५९ मा चिनियाँ शासनको अन्त्यको माग गर्दै भएको तिब्बती विद्रोहको दमन भयो र हजारौँ विरोधीहरू मारिए ।
दलाई लामा आफ्ना १०,००० अनुयायीका साथ हिँडेरै भारततर्फ भागे। उनी धर्मशालामा बसे र त्यहीँबाट निर्वासित सरकारको सञ्चालन गर्न थाले । सन् २०११ मा उनले आफ्नो राजनीतिक भूमिका त्यागे तर तिब्बती बौद्धमार्गको उच्च आध्यात्मिक रहिरहे ।
प्रतिक्रिया